तनहुँमा जीवजन्तुलाई पानी खुवाउन पोखरी : मानिसलाई आराम गर्न चौतारी निर्माण


दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले वडाभित्र पोखरी र चौतारी निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । वडा कार्यालयले विभिन्न ठाउँमा पोखरी र चौतारी निर्माणलाई अगाडि बढाएको हो ।

घरेलु तथा वनजङ्गलमा हुने जीवजन्तुलाई पानी खुवाउने उद्देश्यसहित वडाका चार सामुदायिक वन र एक गाउँमा पोखरी निर्माण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । उनका अनुसार प्रगतिशील सामुदायिक वनमा दुई, चन्द्रामुखी सामुदायिक वनमा दुई, बराहडाँडा सामुदायिक वनमा दुई, पुजकोट सामुदायिक वनमा एक र घरेडीगाउँमा एउटा पोखरी निर्माण गरिएको छ । प्रतिपोखरी निर्माणका लागि वडा कार्यालयले रु एक लाख बजेट विनियोजन गरेको थियो ।

जङ्गलमा पानीको स्रोत मासिदै गएपछि पानी खोज्दै जङ्गली जनावर बस्तीमा आउनसक्ने भएकाले वडा कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण गरेको गुरुङले बताए । गाउँ नजिक बनाइएको पोखरी घरेलु जनावरलाई पनि उपयोगी हुने उनले बताए ।

‘सामुदायिक वनमा पानीको स्रोत नहुँदा वन्यजन्तुलाई पानीको समस्या भइरहेको छ, पानीको स्रोत मासिएपछि जङ्गली जनावर बस्तीमा आउन सक्छन्’, वडाध्यक्ष गुरुङले भने,’जङ्गलमै पोखरी बनाइदिएपछि वन्यजन्तु बस्तीसम्म आउन सक्दैनन् ।” उक्त वडामा पनि बेला–बेलामा चितुवाले घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको छ । हालसम्म सात बाख्रा चितुवाले आक्रमण गरेको छ । ‘अहिलेसम्म मानिसमाथि नै आक्रमण भएको त छैन, पानी खोज्दै बस्तीमा आउने चितुवाले घरमा पालेका बाख्रालाई आक्रमण गर्ने गरेको छ’, गुरुङले भने ।

यसैगरी वडा कार्यालयले एघार चौतारी निर्माण गरेको छ । प्रत्येक चौतारी निर्माणका लागि वडा कार्यालयले रु ५० हजार बजेट विनियोजन गरेको थियो । वडाध्यक्ष गुरुङका अनुसार प्युरीदोभान टोलमा तीन, जसपुरमा दुई, बाबियाडाँडामा दुई, घरेडीगाउँमा एक, बराहडाँडामा एक, भोर्लेमा एक, रातमाटामा एक चौतारी निर्माण भएको छ । ‘बाटो निर्माण गर्दा कतिपय चौतारी नाश भए, त्यस्ता चौतारीलाई संरक्षण गर्न पुनःनिर्माण गरेका छौँ’, उनले भने, ‘कतिपय ठाउँमा मान्छे हिँड्ने बाटो पहिला फेरिएको छ, मोटरबाटो पुगेपछि हिँड्ने बाटो फरक भएको हो । पैदलयात्रामार्फत हिँड्ने सर्वसाधारणलाई थकाइ मार्नका लागि चौतारी बनाएका छौँ ।’

वडा कार्यालयले खानेपानी मुहान संरक्षण कार्यक्रममार्फत तीन मुहानको संरक्षण गर्ने काम गरेको छ । बाबियाँडाँडा, लामागाउँ र पौवा खानेपानीको मुहान संरक्षणका लागि बाढी पस्न नदिने, इन टेक बनाउने र मुहान वरपर तारबार लगाउने काम गरिएको छ । खानेपानी मुहान संरक्षण कार्यक्रमका लागि वडा कार्यालयले प्रतिमुहान रु ५० हजारका दरले बजेट विनियोजन गरेको छ । त्यस्तै भू–संरक्षण तथा जलाधार कार्यक्रममार्फत रु एक लाख ५० हजारको बजेटमा लीलाचोकको गौरीमूल र धानीकुवा खानेपानीको मुहान संरक्षण गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहले पनि पोखरी र चौतारी निर्माण गर्ने अभियान चलाएका छन् । आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा स् एक पोखरी’ र ‘एक वडा स् एक चौतारी’को अभियान शुरु गरेको छ । पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षभित्र छवटै वडामा पोखरी र चौतारी निर्माण गरिनेछ ।

बन्दीपुर गाउँपालिका–५ ले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले रातमाटा थाकलडाँडा सामुदायिक वन, याम्पा सामुदायिक वन, बाहुनभञ्ज्याङ सामुदायिक वन, झारगाउँ सामुदायिक वनमा पनि पोखरी निर्माण गरिएको जानकारी दिए ।

स्थानीय तहले आफ्नै सक्रियतामा सामुदायिक वनमा पोखरी निर्माण गरिनु सकारात्मक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । जङ्गलमा पानीको स्रोत मासिँदै गएपछि वन्यजन्तु पानी खोज्दै मानव बस्तीमा आउने भएकाले प्रत्येक सामुदायिक वनमा पोखरी बनाउन आग्रह गरिएको उनले बताए । ‘कार्यालयले पनि सामुदायिक वनमा पोखरी बनाउन अनुदान दिएको छ, आर्थिक स्रोत सवल भएका वनले आफैँ पनि पोखरी बनाएका छन्’, उनले भने । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पनि सामुदायिक वनमा पोखरी अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया