आयोजक वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा


काठमाडौं — आयोजक वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘सुपर–८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह–२’ को खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै तीनवटै खेलमा जित हात पार्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

पानी परेपछि ओभर र लक्ष्य घटाउँदै आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १७ ओभरमा १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य १६.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि रोस्ट चेसले अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ५२ रन जोडे । यस क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे ।

वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा मात्र ५ रन बनाउँदा टोलीले २ विकेट गुमाइसकेको थियो ।

त्यसपछि चेसले ओपनर कायल मायर्ससँग मिलेर इनिङ्स सम्हालेका थिए । मायर्सले ३४ बलमा ३५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । रनआउट हुनअघि आन्द्रे रसलले ९ बलमा १५ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि ताब्रियाज साम्सीले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिए ।

कागिसो रबाडा, मार्को यानसेन, ऐडन मार्क्रम र केशव महाराजले १–१ विकेट लिए । समूह २ बाट यसअघि नै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

यससँगै जारी विश्वकपमा आयोजक दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । अर्को आयोजक राष्ट्र अमेरिका पनि इंग्ल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतिक्रिया