झण्डै १५ लाखसहित पक्राउ परेका हुन्डी कारोबारी भन्सार कार्यालयबाटै भागे


जनकपुरधाम– हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् ।

फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बलले समातेर गौर भन्सार कार्यालयमा बुझाउन ल्याएको राय नागरिक भन्सार कार्यालयको पर्खाल नाघेर बिहीबार दिउँसो फरार भएका हुन् ।

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बाट सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पसले भारतीय नम्बर प्लेट बिआर ०५ बिबि ६२१२ को मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा १४ लाख ८० हजार रुपैयाँ मोटरसाइकलको सिटमुनि फेला परेको थियो।

उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसैक्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । उनलाई पुनः समात्न सीमा नाकामा कडाई गरिएको छ ।

प्रतिक्रिया