अजित आत्महत्या प्रकरण : दुबईमा रहेकी अजितकी प्रेमिकाविरुद्ध दुरुत्साहन मुद्दा


काठमाडौं– संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रकरणमा उनका परिवारजनले प्रेमिकाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् ।

अजितका परिवारजनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् । एक उच्च पहरी अधिकारीले अजितका परिवारजनले एकजनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएको पुष्टि गरे ।

बुधबार बिहान संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेले प्रेमिकासँग भिडियो कल गर्दागर्दै आफैले बोकेर हतियारले निधारमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत २२ वर्षीय गोलेले प्रेमीकाकै कारण आफूलाई गोली हानेकोे प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

विदेशमा रहेकी प्रेमिका सम्पर्कविहीन भएका कारण गोले केही दिनयता तनावमा रहेको आफन्तहरुले बताएका छन् ।

दोलखा मेलुङ गाउँपालिका–४ घर भएका गोलेले आफ्नै खर्चमा केही समयअघि प्रेमिकालाई वैदेशिक रोगजारीका लागि दुबई पठाएका थिए । तर, उता गएपछि प्रेमिका विस्तारै सम्पर्कविहीन हुँदा गोले तनावमा थिए ।

उनकी प्रेमिकालाई परिवारसँगै चिनजानसमेत गराइसकेका थिए । प्रहरी जवान गोलेले पारिवारिक सहमतिमा नै विवाह गर्ने योजना पनि बनाइसकेका थिए । उनीहरूको इन्गेजमेन्ट पनि भइसकेको जनाइएको छ ।

तर, उता गएपछि प्रेमिका सम्पर्कविहीन हुन थालेपछि पूरै परिवार तनावमा रहेको बताइएको छ । दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि भएको अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

गोले संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । बुधबार बिहान ८ बजे उनी मृत भेटिएका थिए । उनले आफैँले बोकेको राइफलले निधारमा फायर गरेको देखिएको प्रहरीले बताएको छ । गोले २०७६ सालमा प्रहरी सेवामा जवानको रुपमा प्रवेश गरेका थिए ।

र यो पनि…

प्रेममा ‘हारेका’ २ सिपाही, करिश्मा र अजित !

प्रतिक्रिया