विशेषद्वारा लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय

घुसको रकमबाट आमाको नाममा साढे २ रोपनी बढी जग्गा किने


काठमाडौं — लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले उनलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।

जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई बिहीबार विशेष अदालतले कसुर निर्धारण गरेको हो ।

ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध अख्तियारले २५ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको अख्तियारको अभियोग पत्रमा थियो ।

त्यस्तै अभियोग पत्रअनुसार घूससहितको रकमबाट भट्टराईले आमा जनकनन्दनीका नाममा भक्तपुरको गुन्डुमा छुट्टाछुट्टै कित्ताका २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा किनेको खुलेको छ ।

भट्टराई आव २०७५/७६ अघिसम्म कोषमा योजना प्रमुख थिए । उनकै पालामा अहमदले एक अर्ब २२ करोडको ठेक्का पाएका थिए । त्यही बेला भट्टराईले ठेकेदारबाट लिएको घूसको विवरण बाहिरिएपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया