नेपाल पक्षको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बन्न आह्वान


काठमाडौं– नेकपा एमालेका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई माधव कुमार नेपाल पक्षले बुधबारदेखि राखेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रमुख अतिथि बनेर उद्घाटन गर्न आह्वान गरेका छन्।

भेला स्थगन नगरे कारबाही गरिने भन्ने ओलीको मंगलबारको भनाईलाई काउन्टर गर्दै भट्टराईले भेलासम्बन्धी जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा यसो भनेका हुन्।

भट्टराईले केपी ओलीले गर्ने कारबाही आफूहरुले भोग्न तयार रहेको बताएका छन् । माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीलाई इतिहासले निर्मम कारबाही गर्ने चेतावनी पनि दिए।

कार्यक्रममा भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ। हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं। इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ।’

ओलीलाई दुई वर्ष बालुवाटारमा चैनका साथ र बारुदका गन्ध नफैलाउन आग्रह गर्दै भट्टराईले भने, ‘जतिबेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन्। त्यसैले धम्कीको भाषा नबोलौं।’

प्रतिक्रिया