वायु सेवा निगमलाई धराशायी बनाउँदै युवराज अधिकारी, जहाज मर्मतमा यसरी हुन्छ घोटाला


काठमाडाैं- एक व्यक्तिले कुनै संस्थालाई कसरी सिद्ध्याउन सक्न भन्ने उदाहरणका लागि युवराज अधिकारीलाई बुझे पुग्छ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष रहेका अधिकारी विभिन्न चलखेल गर्दै कमिसन खानमा खप्पिस रहेछन् भनेर अर्थ मन्त्रालयमा उनीविरुद्ध परेको उजुरीले प्रष्ट पारिदिन्छ ।

उक्त उजुरीले नेपाल वायु सेवा निगम अन्तर्गतको वाइडवडी जहाज मर्मतमा कसरी घोटाला हुने हुन्छ भन्ने तथ्यलाई प्रष्ट पारिदिएको छ । प्रत्येक ३ महिनामा उक्त जहाजको मर्मत गर्नुपर्ने भएकाले ‘एमआरओ’ गर्न ढिलोगरि बोलपत्र आव्हान गरेर निकटको कम्पनीलाई टेन्डर पार्ने चालबाजी गरिने गरेको उजुरीमा उल्लेख छ ।

स्रोतका अनुसार नेवानिका कर्मचारीसँगै साँठगाँठ गर्ने एक बंगलादेशी एजेन्टको कम्पनीलाई विमान मर्मतको ठेक्का दिने सेटिङ भइरहेको छ । सार्वजनिक खरिद ऐनलाई लत्याउँदै अन्तिम समयमा टेन्डर खोलेर आफूले चाहेको कम्पनीलाई मर्मतको ठेक्का दिने परिपाटी भने उनै अधिकारीको नेतृत्वमा पहिलैदेखि चलिआएको स्रोतको दाबी छ ।

हाल वायु सेवा निगमका अध्यक्ष रहेका अधिकारी, तत्कालीन खरिद अधिकृत उपेन्द्र पौडेल र एक कर्मचारी पोशक ज्ञवालीले पहिले पनि ‘एआइए’ नामक कम्पनीसँग मिलेर मर्मतको नाममा करोडौं कमिसन खाएको स्रोतले बताएको छ । विमानको पाटपूर्जा मर्मत गर्दा वास्तविकभन्दा ४ गुणा बढीको कोटेशन पठाएर यी तीनजनाले घोटाला गरेको भन्दै कुरा बाहिर आएको थियो ।

अहिले पनि अधिकारी र पौडेलले एकलौटी रुपमा बंगलादेशी एजेन्टमार्फत जहाज मर्मतको ठेक्का दिने प्रक्रिया मिलाइरहेको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेको हो । उनीहरुले सस्तोमा नभएर महंगोमा मर्मत गर्ने कम्पनीलाई ठेक्का दिने चलखेल गरिरहेको उजुरीमा उल्लेख छ ।

तर, अध्यक्ष युवराज अधिकारीलाई प्रधिकरणले कारबाही गर्न भने डराउने गरेको बताइएको छ । उनले संसदीय समितिलाई पनि किनिसकेको र अख्तियार दुरुपयोग अनुसन्धानका आयुक्त किशोर कुमार सिलवाल आफ्नै मान्छे भएकाले महानिर्देशकको फाइल खोलिदिने भन्दै धम्की दिने गरेको पनि बताइएको छ ।

उजुरीपछि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सोही उजुरीको आधारमा ८९७ चलानी नम्बर हालेर नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पत्र पनि लेखिसकेको छ ।

महाशाखाले जेठ २ गते पठाएको पत्रमा उजुरीको व्यहोराका आधारमा कारबाही गरेर मन्त्रालयमा जानकारी गराउन भनेको छ ।

प्रतिक्रिया