ओली र नेपालको ‘इगो’ले सुदूरपश्चिम सरकार विस्तार अन्यौलमा, अर्थमा एमाले र माओवादी दुवैको दाबी

एमाले,माओवादीबाट को–को छन् मन्त्रीका दाबेदार ?


काठमाडौं – मुख्यमन्त्री नियुक्त भएको एक महिना वितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् ।

पार्टी केन्द्रले आवश्यक निर्देशन नदिदा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्न नसकेका हुन । प्रदेश सरकारको बजेट ल्याउने तयारी सुरु भइसक्दा सत्ता गठबन्धनका दुई ठुला दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागि भएका छैनन् ।

सरकार विस्तार हुन नसक्दा बजेट निर्माणको समयमा अर्थसहित चारवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन । गत ६ जेठमा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता पक्षका सांसद र एकजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

त्यसपछि उनले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र उन्मुक्तिकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए । खासगरी एमालेले सोडारीलाई मुख्यमन्त्री बनाउन चाहेको थिएन । अन्तिम समयमा गठबन्धनमै संकट आउने भएपछि एमालेले सोडारीलाई समर्थन गरेको हो ।

एमाले र समाजवादीकै नेताहरुका अनुसार केपी शर्मा ओली र माधव कुमार नेपालको आपसी इगोका कारण सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।कतिपय एमाले प्रदेश सांसद सोडारी नेतृत्वको सरकार छिट्टै ढल्ने टिप्पणी समेत गर्दै आएका छन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकार विस्तारको हुन नसक्नुको कारण मुख्यमन्त्रीसंग माग्न आग्रह गरे ।

दुई मन्त्रालय भागवण्डा भइसकेको अवस्थामा एमाले र माओवादी दुवैको चासो र दाबी प्रदेशको अर्थ मन्त्रालयमा छ । प्रदेशमा एमाले,माओवादीका समान ११÷११ सासंद छन् ।
माओवादी केन्द्रका सासंद ओमविक्रक भाट बजेटको महत्वपूर्ण समयमा मन्त्रालय मन्त्रीविहिन हुने कुराले राम्रो सन्देश नगएको बताउँछन् । उनले आज भोलीमै सरकारले पूर्णता पाउनेमा आशावादी रहेको बताए ।

को को छन् मन्त्रीको दौडमा ?
एमाले माओवादीभित्र सबैजसो सांसद मन्त्रीको दौडमा छन् । मन्त्रीकै लागि प्रायजसो सांसद काठमाडौंमै केन्द्रित छन् । माओवादीबाट संसदीय दलका उपनेता अक्कल रावल,झपट साउद,ओमविक्रम भाट र रमेश धामीको नाम चर्चामा छ ।
राज्यमन्त्रीमा लक्ष्मी विकको नाम चर्चामा छ । एमालेमा सन्तोष शर्मा थापा, सुरेन्द्र पाल, धर्मराज पाठक, वीरबहादुर थापा र दमनबहादुर भण्डारीको नाम मन्त्रीका लागि चर्चामा छ ।

प्रतिक्रिया