बालबच्चा अपहरण गर्ने धम्की दिएको भन्दै सेतीका डाक्टर शर्माविरुद्ध प्रशासनमा उजुरी


कैलाली- सेती प्रादेशिक अस्पतालमा कार्यरत डा निराजन दत्त शर्माले औषधी व्यवसायीलाई धम्की दिने र गालीगलौच गर्ने गरेको आरोप लगेको छ ।

गरिमा पोलिक्लिनक, साह फार्मेसी र गरिमा डेन्टलका सञ्चालकसमेत रहेका डा शर्माले थोक औषधी व्यवसायीहरुलाई ज्यान मार्ने धम्की दिने गरेकोसमेत आरोप लागेको हो ।

नेपाल औषधी व्यवसायी संघ कैलालीले डाक्टर निराजनबाट आफूलाई सुरक्षित राख्न भन्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

‘डा निराजन दत्त शर्माले थोक औषधी व्यवसायीहरुसँग कम्पनीबाट सिधै मेरो क्लिनिकमा औषधी आउन किन रोक लगायौं भन्दै तथानाम गाली गर्ने, हकार्ने, तिमीहरुलाई चाहेमा जे पनि गर्नसक्छु, तिम्रा घर परिवारलाई अपहरण गर्न सक्छु, तिमीहरुलाई गुण्डा लगाएर जे पनि गर्न सक्छु भनि विगत २/३ महिनादेखि धम्काउँदै मानसिक यातना दिइ आएकाे भन्दै यस नेपाल औषधी व्यवसायी संघ जिल्ला कार्य समितिमा मौखिक रुपमा उजुरी पर्न आई यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ’ औषधी व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा उल्लेख छ ।

संघले उनीलाई आवश्यक कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।

औषधी व्यवसायी संघमा मोखिक उजुरी परेपछि जिल्ला प्रशासनमा निवेदन हालेको संघका कार्यवाहक अध्यक्ष भक्तराज उप्रेतीले बताएका छन् ।

औषधी वितरक संघका निवर्तमान अध्यक्ष राज जोशीले डाक्टर निराजनले आफूखुसी औषधी विक्री वितरण गर्ने गरेको बताएका छन्।

संघका अध्यक्ष प्रेमराज बुढासँगको वार्ताका क्रममा डा निराजनले संघका केही सदस्यहरुका बालबच्चा अपहरण गर्ने धम्की दिएको संघका कार्यसमिति सदस्य मेघेन्द्र बोहोराले बताएका छन्।

यो विषयमा डाक्टर निराजनसँग कुराकानी गर्दा उनले संघले नेपालको कानूनमा नभएको कुरा नियमन गर्न खोजेको र बिरामीलाई सस्तोमा औषधी प्रदान गर्न खोज्दा रोक्ने प्रयास गरेको बताएका छन् । उनले आफूले केही धम्की दिएको भए कानून अनुसार अगाडि बढ्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया