‘एक्सन’मा ‘सिंघम’ एसपी ढुंगेल, २३ वर्षदेखि फरार ‘मोस्ट वान्टेड’ कुख्यात अपराधी गिरी पक्राउ


पर्सा – नेपाल प्रहरीका ‘सिंघम’ एसपीका रुपमा परिचित प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले कमाण्ड सम्हालेसँगै पर्सा जिल्लामा आपराधिक घटनाक्रम रोकिएको मात्रै होइन वर्षौंदेखि फरार रहेका ‘मोस्ट वान्टेड’ सूचीका कुख्यात अपराधीहरु पनि पक्राउ परेका छन् ।

अपराधी र तस्करहरुविरुद्ध खरो रुपमा प्रस्तुत हुने ढुंगेलको कमाण्ड रहेको पर्सा प्रहरीले पर्सा प्रहरीले कुख्यात अपराधी तथा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका प्रेम गिरीलाई आइतबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपाललगायत भारतका विभिन्न राज्यमा अपराध गरी भारतीय प्रहरीलगायत नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गिरीलाई पक्राउ गरेको हो । आफ्नै घरमा लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी ढुंगेलका अनुसार कुख्यात अपराधीको नाममा परिचित रहेका गिरी पर्साको कुहडीका पन्नालाल सनारको पत्नीको कर्तव्य ज्यान मुद्दामा फरार लगायत अपहरण, डकैती मुद्दामा पनि फरार रहँदै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको आरोपमा अदालतबाट म्याद थप अनुमति लिई उनी माथि अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए ।

उनी पक्राउ परेसँगै पर्सा लगायत भारतीय सीमावर्ती क्षेत्रमा बसोबास गर्ने आम सर्वसाधारणमा खुसी छाएको छ । प्रहरी उपरीक्षक ढुंगेल लगायत पर्सा प्रहरीको लागि ठूलो सफलता भएको दाबी गरिएको छ ।

त्यस्तै, १२ भदौ २०५७ मा मध्यराति पर्साको तत्कालीन विन्दवासिनी गाविस–४ बस्ने ३० वर्षीय देवेन्द्र यादवको घरमा भएको डकैतीमा पनि उनी संलग्न थिए । त्यसक्रममा उनीसहितको समूहले गोली हानेर देवेन्द्रप्रसाद यादवको हत्या गरेको थियो ।

१९ फागुन २०६६ र २५ पुस २०६० मा उनी पर्सा प्रशासनको फैसला अनुसार हातहतियार तथा खरखजाना मुद्दामा फरार थिए । ३ असार २०६० मा उनी पुनरावेदन अदालत हेटौंडाको फैसलाअनुसार हातहतियार तथा खरखजना मुद्दामा फरार थिए ।

४ जेठ २०५६ मा जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा समेत उनी फरार थिए । मैनालीको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर थप जाँच भइरहेको एसपी ढुंगेल बताउँछन् । उनी २३ वर्ष देखि प्रहरीको खोजी सूचीमा थिए ।

प्रतिक्रिया