लुम्बिनी प्रादेशिक अस्पताल देशभरमै उत्कृष्ट


लुम्बिनी- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ । यो अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो ।

‘सेकेण्डरी बी लेभल’ अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिका अनुसार न्यूनतम मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पतालले यस वर्ष ८९ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष पनि ८० अंक प्राप्त गरी पहिलो बनेको प्रादेशिक अस्पतालले यो वर्ष थप अङ्क प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षणपश्चात् मंगलबार र बुधबार दुई दिनसम्म बुटवलमा आयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

अस्पतालको सुशासन र व्यवस्थापन, ‘क्लिनिकल’ व्यवस्थापन र अस्पतालको ‘सपोर्ट सर्भिस’ जस्ता विषयलाई सर्वेक्षणका प्रमुख मापदण्ड बनाइएको थियो। मूल्यांकन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इन्स्टिच्युट काठमाडौं थिए  ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउँछन् ।

प्रतिक्रिया