
भन्सार छलेर काठमाडौं ल्याउन लागिएको २९ लाख बराबरको औषधिसहित दुई जना पक्राउ
नवलपरासी- प्रहरीले भन्सार छलेर नेपाल भित्र्याइएको औषधि नवलपरासीबाट बरामद गरेको छ । आइतबार बिहान भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट औषधीसहित २ जना समातिएका छन् ।
पक्राउ पर्नेहरुमा गोरखाको गण्डकी गाउँपालिका–४ का ३० वर्षीय विवेक पोखरेल र बाग्लुङको बडिगाड गाउँपालिका– ५ का २९ वर्षीय अभिषेक खरेल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रदेश नं ३,०१–००२ च ८९९६ नम्बरको कारभित्र भन्सार छलेर ल्याउदै गरेको २९ लाख बराबरको ६ पेटी औषधी बरामद गरेको प्रहरीले जनाएको छ ।
पोखरेल र खरेलले काठमाडौंको टिचिङ अस्पताल अगाडि रहेको आफ्नै मेडिकलमा लैजानका लागि ती औषधी ल्याएको खुलेको छ ।
बरामद औषधीसहित कार र पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
