

पूर्वराजा शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका एमाले नेता पार्टीबाट निष्कासित

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका रामप्रसाद बस्याललाई नेकपा एमाले रुपन्देहीले निष्कासन गरेको छ।
एमालेका स्थानीय नेता रहेका बस्याल गएको स्थानीय तह निर्वाचनमा पार्टीबाट रुपन्देहीको सिद्धार्थ नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर पराजित भएका थिए।
तिनै बस्याल पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेपछि एमालेले निष्कासन गरेको हो।
एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीतिविरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार नहुने र यस प्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तिमार्फत बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।

