…त्यसपछि प्रचण्डले भनेका हुन्– वैशाखभित्र ओलीको पत्तासाफ हुन्छ


काठमाडौं– ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरे, सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस सदर गरिन्।

लगत्तै दर्जन बढी वकिलहरूले सर्वोच्च अदालतमा उक्त निर्णयको विरुद्धमा रिट दर्ता गराए। उता मुद्दा दर्ता भए पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पुनःस्थापनाको आन्दोलनमा होमिए। तर, उनलाई डर थियो– प्रतिनिधि सभा पुनःस्थापनाको फैसला हुनेछैन।

विरोध सभाको मञ्चमा नै भारतले ओलीको यो निर्णयमा विरोध गर्नुपर्ने बोलेका प्रचण्ड ओलीलाई दबाबमा राख्नका लागि अर्को बाटोतिर लम्किन थाले। जसको सहजीकरणका निम्ति पुराना साथी तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई पुनःस्थापनाका लागि भारतीय पक्षसँग समन्वय गर्नका लागि अनुरोध गर्दै प्रधानमन्त्री बनाउने वाचा गरिदिए।

उच्च स्रोतले भन्यो,‘भारतीय पक्षसँग समन्वय गर्न सक्ने क्षमता भट्टराईमा रहेको बुझेका उनले समन्वयका लागि हात बढाए, त्यसका लागि भट्टराईलाई प्रधानमन्त्री पदको कुर्सीमा राख्ने बचन दिए।’

भारतीय पक्षसँग डा. भट्टराईले निरन्तर कुरा गरेपछि त्यसको ब्रिफिङको समन्वय भने उपराष्ट्रपति नन्दबहादुर पुनःको निवासमा हुन थाल्यो।

‘चार पटकसम्म प्रचण्ड–भट्टराईको भेट उपराष्ट्रपतिको समन्वयमा निवासमा भयो। त्यस क्रममा पनि विभिन्न पक्षसँग कुराकानी भएको थियो’, स्रोतले भन्यो,‘सोही ब्रिफिङका आधारमा नै निरन्तर भारतीय दूतावासमा पनि कुराकानी भएको बुझिन्छ।’

प्रचण्डले निरन्तर भएका कुराकानीबारे आफूसँग रहेका नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग साझेदारी गरेका थिए। त्यसको केही समयपछि उपचारका लागि खनाल नयाँ दिल्ली पुगेका थिए। सो क्रममा राजनीतिक कुराकानी या हाईप्रोफाइल भेट भएको भन्नेबारेमा त केही खुलेको छैन। तर, खनालको भारत भ्रमणलाई आशंकको कसीमा राखेर हेरियो।

‘मिर्गौला जस्तो जटिल प्रत्यारोपणको विषयमा भारतले सहयोग गर्ने भन्दा भन्दै पनि प्रधानमन्त्री ओलीले टिचिङमा गराए तर सामान्य रोगका लागि खनाल किन यस्तो राजनीतिक संकटको बेला भारत पुगे? यो सोचनिय र आशंकको घेराबन्दीमा रहेको प्रश्न हो’, स्रोतले भन्यो।

त्यसअघि त प्रचण्ड आफैं पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बईमा दुई दिनसम्म बसेका थिए। पत्नीसहित आफ्ना प्रतिनिधि बनेका छोरीलाई छाडेर उनी काठमाडौं फर्किएका थिए।

त्यसपछि पनि उपराष्ट्रपति पुनको निवासमा प्रचण्ड र भट्टराईबीच भेट भएको थियो। ‘तीनदेखि चार घन्टासम्म निरन्तर कुराकानी हुने गरेको थियो, राजनीतक र अहिलेको परिवेशका विषयमा नै कुराकानी भएको थियो’, स्रोतले भन्यो।

ति कुराकानीका दौरान र त्यसपछिका कतिपय मञ्चमा प्रचण्डले निरन्तर प्रधानमन्त्री ओलीको पत्तासाफ हुने चेतावनी दिएका थिए। भट्टराई नयाँ दिल्लीमा रहेका बेला नै संसद पुनःस्थापनाको फैसला हठात् गरियो।

‘यसमा पनि आशंकाको विषय छ, एमीकस क्युरीलगायतको लिखित राय र पक्ष विपक्षको लामो बहसको लिखित विषय पढ्न नभ्याउने अवस्थामा नै रातारात पुनःस्थापनाको फैसला भयो’, उच्च स्रोत भन्छ,‘यसले आशंकामा थप जोडबल पुगेको छ।’

पुनःस्थापना भएको दिन नेता नेपालले हिन्दीमा बधाई लिएको र सहयोगका लागि धन्यवाद दिएको भिडिओ एउटा मूल प्रसङ्गका रुपमा आयो। प्रधानमन्त्री ओलीसमक्ष उक्त भिडिओको ब्रिफिङ पुगेको थियो। जसका आधारमा सांकेतिक रुपमा भारतीय पक्षलाई नेपालले फोन गरेका हुन् भन्ने आधारलाई सार्वजनिक मञ्चमा प्रधानमन्त्रीले अभिव्यक्त गरे।

त्यतिमात्र नभएर एउटा अन्तरवार्ता दौरान प्रचण्डले कांग्रेस, जनता समाजवादी पार्टी र आफूबीचको सरकार भारतका लागि कम्फर्टेबल हुन्छ भन्ने अभिव्यक्ति दिए। ‘त्यसले पनि धेरै चिजको संकेत गरेको छ। किन ओलीको पत्तासाफ पार्छु भनेका थिए भन्ने प्रष्ट छ। तर उनले सन्तुलनका लागि चीनलाई पनि जोडेका हुन्’, स्रोतको दाबी छ।

पछिल्लो पटक ओलीको सत्ता गिराउन र राजनीतिमा कमजोर बनाउनका लगि भारतीय संस्थापनसँग समन्वय गर्न खुलेआम माओवादीलाई संरक्षण दिएको घोषणा गर्ने भारतीय पूर्वविदेश सचिव श्याम शरणको भूमिका रहेको बताइन्छ।

उनकै समन्वयमा भारतको प्रतिकूल रहेको भनिएका प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्नका लागि डा. भट्टराईले नयाँ दिल्लीमा अजीत डोभाल, अखिलेश मिश्र, रणजीत राय, श्यामशरण र मञ्जीव सिंह पुरीलगायतसँग कुराकानी  गरेको विषय सतहमा आएको छ।

प्रधानमन्त्री ओलीसँग यी सबै सूचना पुगिसकेका कारण उनले सरकार खतरामा रहेको मात्र होइन, पोखराको कार्यकर्ता भेलामा आफूलाई सुरक्षा खतरा रहेको पनि जिकीर गरे। स्मरण होस्, मोदीको अघिल्लो कार्यकालमा नाकाबन्दी गरेका कारण नै ओलीलाई अविश्वासको प्रस्ताव राखी सत्ताच्युत गरिएको थियो, यस काममा प्रचण्ड नै मुख्य भूमिका थिए जसलाई ओलीले बारम्बार सम्बोधनका क्रममा उठाउँदै आएका छन्।

प्रतिक्रिया