दुर्गा–महेश प्रदर्शनः उपत्यकाको सुरक्षा व्यवस्था कडा, ‘ब्याकअप’मा नेपाली सेना


काठमाडौं – राजधानीमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विरोध प्रदर्शन गर्दैछन् ।

प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने युवा संघले तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।

पछिल्ला केही दिनदेखिको दुवै पक्षको तयारीलाई लिएर उपत्यका प्रहरी कार्यालयले प्रदर्शनको सुरक्षाका लागि एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

प्रत्यक्ष रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धानका गरी उक्त संख्यामा सुरक्षाकर्मी परिचालन हुने जनाइए पनि ‘ब्याकअप’ को रुपमा नेपाली सेनालाई पनि तयारी अवस्थामा राखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टी भने भएको छैन ।

उपत्यका ट्राफिक कार्यालयले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक सवारी लिएर घरबाहिर ननिस्कन गरेको अनुरोधसँगै उपत्यकाको ट्राफिक पनि अस्तव्यस्त हुने अनुमान लगाउन सकिन्छ ।

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । सेन्टरका लागि प्रहरी, सशस्त्र, अनुसन्धान र नेपाली सेनाका अधिकृत सम्मिलित एक समितिले निगरानी गर्ने जनाइएको छ । त्यसैले नेपाली सेना पनि तयारी अवस्थामा रहने अनुमान लगाउन सकिन्छ ।

प्रदर्शन स्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले सुरक्षा व्यवस्थापनको नेतृत्व गर्ने जनाइएको छ ।

प्रतिक्रिया