

प्रधानमन्त्रीले मुलुक अन्यौलमा राख्नुहुन्नः प्रदिप ज्ञवाली
सकियो नेकपा ओली समूहको स्थायी समिति, भोली पनि बस्ने

काठमाडौं– परराष्ट्रमन्त्री तथा नेकपा केपी शर्मा ओली समूहका स्थायी समिति सदस्य प्रदिप ज्ञवालीले प्रधानमन्त्रीले मुलुकलाई अन्यौलमा नराख्ने बताएका छन्।
स्थायी समितिको बैठकपछि बुधबार उनले सञ्चारकर्मीसँग भने,‘पछिल्लो विकसित परिस्थितिका विषयमा हामी सबै पक्षसँग छलफलमा हुन्छौं, त्यसैअनुसारको निर्णय हुनेछ। प्रधानमन्त्रीले मुलुक अन्यौलमा राख्नुहुन्न।’
स्थायी समिति बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलाशले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको बताउँदै उनले भने,‘फैसला सँधै अपेक्षित नै हुन्छ भन्ने हुँदैन। तर हामी फैसला कार्यान्वयनमा हामी दृढ छौं।’
स्थायी समितिले केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउने निर्णय गरेको छ। विहीबार बस्ने स्थायी समितिले केन्द्रीय कमिटी र संसदीय दलको बैठकको मिति तय गर्ने ज्ञवालीले बताए।
उनले पूर्वनिर्धारित पार्टीका सभा र कार्यक्रमले निरन्तरता पाउने जनाउँदै उनले भने,‘स्वरुपहरु परिवर्तन हुनेछन्। भनाई राख्नेछौं। स्थानीय स्थिति हेरेर निरन्तरता दिनेछौं।’
उनले संसदको अधिवेशन निर्धारित समयमा आह्वान हुने र त्यसपछाडिको राजनीतिक परिदृश्य कसरी जान्छ भन्ने छलफलका आधारमा अगाडि बढ्ने बताए।

