

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । यससँगै चिकित्सक संघको स्वास्थ्य संस्था बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।
नेपाल चिकित्सक संघले उठाएका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार आइतबार अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक संघका अध्यक्ष सहितका प्रतिनिधिहरु भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो ।
जसअनुसार मकवानपुरको सञ्चो अस्पतालमा डिउटीमा रहेका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरूलाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ । हाल पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका ५ जना सहित अन्य दोषीहरूलाई कानुन बमोजिम बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको वार्ता समितिका संयोजक डा विकास देवकोटाले जानकारी दिए ।
उनकाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने पनि सहमति भएको छ ।
यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
यर्सैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा लैजाने, चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति पनि भएको छ ।
सोही सहमतिअनुसार संघको अगुवाइमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरू बन्द लगायतका घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सहमति भएको देवकोटाले जानकारी दिए ।

