

बङ्गलादेशको डीएससीएससीका प्रशिक्षार्थीद्वारा सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमण

काठमाडाैं – बङ्गलादेशको डीफेन्स सर्विसेज कमाण्ड एन्ड स्टाफ कोर्स (डीएससीएससी)का प्रशिक्षार्थीहरूले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।
बङ्गलादेशको मिरपुरस्थित डीफेन्स सर्विसेज कमान्ड एन्ड स्टाफ कलेजमा सञ्चालित डीएससीएससीमा सहभागी प्रशिक्षार्थीहरूले आइतवार स्टाफ कलेजको भ्रमण गरेका हुन्।
७ दिने अध्ययन भ्रमणका लागि भदौ ३० गते नेपाल आएको ३२ सदस्यीय टोलीले काठमाडौं उपत्यका एवं पोखराको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित यस किसिमको तालिममा सहभागी प्रशिक्षार्थीहरूले विभिन्न मुलुकहरूको भ्रमण गर्ने प्रचलन छ।
यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बद्ध मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने नेपाली सेनाले विश्वास छ ।

