राहुल महरालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं – भेपमा सुन लुकाएर तस्करी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पक्राउ गरेको महरामाथी संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद पाएको हो ।

संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ । यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।

भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको बेला राहुल महरा पक्राउ परेका हुन् ।

प्रतिक्रिया