
काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजान नदिने घोषणा
काठमाडौं – बञ्चरेडाँडाका स्थानीयबासीले आउँदो असोज एक गते देखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने घोषणा गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो ।
आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोर मैलाका कारण स्थानीय बासिन्दाहरूमा नकारात्मक असर परे पनि सरोकारवाला निकायहरूले उक्त समस्यालाई नजरअन्दाजमात्रै गरेकाले फोहोर मैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको हो ।
प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरूपको कार्यान्वयन गरिनुपर्ने उनीहरूको माग छ । प्रदूषणरहित मानव बस्ती र मानवरहित ल्याण्डफिल साइट अहिलेको निकास भएको सरोकार समितिले बताएको छ ।
सरकारले प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरूको आरोप छ ।
२०६२ सालदेखि आजसम्म काठमाडौँ महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको उनीहरूको आरोप छ ।
काठमाडौँ उपत्यकाको फोहोर मैला बञ्चरेडाँडा क्षेत्रमा आगामी दिनमा प्रवेश गर्न कुनै हर हालतमा नदिने सरोकार समितिले जनाएको छ ।
सरकारले ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा नगरेको, प्रभावित क्षेत्रलाई अधिकरण गरेर र मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेमा त्यसो नगरेको, अस्पतालजन्य फोहोर मैला, विषाधिजन्य फोहोर मैला, औद्योगिकजन्य फोहोर मैला प्रतिबन्ध नगरेको उनीहरूको आरोप छ ।
बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले आफूहरूको जीवन मरणको अवस्थामा रहेपनि राज्यले समस्या समाधान गर्न कुनै चासो नदिएको बताए ।



कागजपत्र |
