दुनैबाट एक्लै गाडी रिजर्भ गरेर त्रिपुराकोट पुगेका मेजर पण्डित त्यसपछि कता लागे ?


काठमाडौं – चौबिस घन्टादेखि सम्पर्कबिहीन नेपाली सेनाका सेनानी (मेजर) बिमल पण्डित अझै सम्पर्कमा आएका छैनन् ।

डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपती पण्डित आइतबार दिउँसो ४ः५५ बजे एक सैनिकका साथ गुल्मबाट बाहिर निस्किएपनि केही बेरमा ती सैनिकलाई फर्काउँदै पछि सम्पर्कबिहीन भएको जनाइएको छ ।

डोल्पाको सदरमुकाम दुनैस्थित कालिकामन्दिर नजिकै रहेको उक्त गुल्मका प्रमुख समेत रहेका पण्डित त्यसको करिब १ घन्टापछि डोल्पाकै त्रिपुराकोटमा देखिएको र त्यसपछि भने कतै ‘क्लु’ पाउन नसकिएको जनाइएको छ ।

गुल्मपति पण्डित दुनै बजारबाट भाडाको गाडी एक्लै रिजर्भ गरेर साँझ ७ बजे दुनैबाट एक घण्टाको बाटो त्रिपुराकोट (त्रिपुरासुन्दरी मन्दिर नजिक) पुगेको लोकेशनबाट देखिएको प्रहरी स्रोत बताउँछ ।

त्रिपुराकोटमा पण्डितले एउटा झोला समेत किनेको जनाइएको छ । उनले किनेको झोला पछाडि भिरेर दौडेदौडे जस्तो गरेर हतास मनस्थितिमा हिंडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय भई संयुक्त रुपमा खोजी गरिए पनि अहिलेसम्म उनको अवस्था अज्ञात नै रहेको जनाइएको छ ।

प्रतिक्रिया