

उपराष्ट्रपति र सभामुखप्रति आक्रामक ओलीले भने– संसद विघटनमा सर्वोच्चले अन्यथा फैसला गर्दैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नी सापकोटामाथि आक्रामक बनेका छन्। उनले दुवै जनाले राजनीतिक खेल र अदालती झगडिया बनेको आरोप लगाए।
शनिबार बिराटनगरमा भएको आफू पक्षीय नेकपा आम सभालाई सम्बोधन गर्दै उनले उपराष्ट्रपति पुनःले राजनीतिक पक्षपोषणको अभिव्यक्ति दिएको बताए। पुनःले नेपाल पत्रकार महासंघको साधारण सभाका क्रममा देशमा असंवैधानिक अवस्था र प्रतिगमनतिर मुलुक पुगेको बताएका थिए। प्रतिनिधि सभा विघटनको सन्दर्भमा त्यसरी अभिव्यक्ति दिएपछि ओली आक्रामक भएका हुन्।
उता, सभामुख सापकोटा त पुनःस्थापना विरुद्ध बोलेको र संवैधानिक परिषदको निर्णयविरुद्ध अदालतमा रिट हाल्न नै पुगेपछि झगडियाको संज्ञा दिँदै भने,‘कार्यकारी प्रमुखको निर्णय, सरकारको निर्णयमा मुद्दा मामिला गर्दै हिँड्ने?’
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनःस्थापन हुन नसक्ने दाबी गर्दै चुनाव हुने बताए। उनले भने,‘सेटिङ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए अवस्था गतिलो हुँदैन।’
ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई भने। उनले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताए।
उनले भाषणको सुरुआतमा नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे। उनले भने,‘प्रचण्डसँग पहिला वैद्य हुनुहुन्थ्यो, वैद्यले छाडे, डाक्टर लिए डाक्टरले आडे, अब झाँक्री लिनुभयो। अब उहाँलाई झाँक्रीले बचाउन सक्तैन।’
उनले दुई चार सीट पनि ल्याउन नसक्ने प्रचण्डको राजनीतिक हैसियत रहेको स्मरण गराउँदै भने,‘प्रचण्डलाई जुरो हालिदिएँ, सिंग हाल्दिएँ अब हामीलाई नै सिध्याउन खोज्नुभयो। अहिले त कहाँ पुगियो थाहा होला नि।’
कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उनले बताए।

