
सञ्चार सचिव राउतविरुद्ध मुद्दा नचलाउन सीआईबीको राय
काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा घोटाला प्रकरणमा सञ्चार सचिव कृष्ण बहादुर राउतविरुद्ध मुद्दा नचलाउन राय दिएको छ । जग्गा हिनामिना प्रकरणमा ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्दा राउतलाई प्रतिवादी नबनाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको हो ।
‘संगठित किर्ते’ गरेर बालुवाटारको जग्गा हिनामिना गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा.बावुराम भट्टराई र पूर्व मुख्यसचिव लिलामणि पौड्याललाई पनि प्रतिवादी नबनाउन राय दिइएको सीआईबीका एक अधिकारीले जानकारी दिए । सीआईबीले सरकारी वकिलको कार्यालयलाई मंगलबार आफ्नो रायसहितको प्रतिवेदन बुझाएको हो ।
जग्गा प्रकरणमा यसअघि प्रहरीले राउतलाई पक्राउ गरेको थियो । तर, न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनाबाहिर रहेर मुद्दा लड्न सक्नेगरी राउतको पक्षमा आदेश दिएको थियो ।



कागजपत्र |
