आफ्नै टिपर जलाएको आरोपमा तीन जना पक्राउ


ललितपुर – आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले बीमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री र रामेछाप घर भई टीकाथली बस्ने ३३ वर्षीय भिमसेन खत्री छन्।

१३ महिना अगाडि प्रदीपकुमार खत्रीले बा ३ ख २८९४ नम्बरको टिपर मासिक किस्ता १३ दाख रुपैयाँ तिर्ने गरी खरिद गरेका थिए। उनका भाइ भिमसेन खत्रीले उक्त टिपर चलाउने गर्थे। तर चार महिना अगाडि गोदावरी नगरपालिका-१२ ठेंचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बिग्रिएर थन्किएको थियो।

मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि उनीहरूले टिपरमा आगो लगाएर बीमा रकम प्राप्त गर्ने योजना बनाएका थिए। योजनाअनुसार साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाएका थिए।

त्यही दिन दिउँसो प्रहरी वृत्त चापागाउँमा आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपकुमार पुगेका थिए। उनले निवेदन दिँदा बीमा रकमका लागि आवश्यक सिफारिस गर्न भनेका थिए।

प्रहरीलाई श‌ंका लागेपछि अनुसन्धान अघि बढाउँदा बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरेको खुलेको हो। उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।

प्रतिक्रिया