कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता


काठमाडाैं – कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा बुधवार भएको भेटमा मन्त्री भुसालले कोरिया नेपालको घनिष्ठ मित्र, भरपर्दो साझेदार रहेको र नेपालको आर्थिक–सामाजिक विकासमा कोरियाले गरेको महत्त्वपूर्ण सहयोगको स्मरण गरे । साथै उनले कोरियाले पहिलेका दिनहरूमा पनि नेपाललाई सहयोग गर्दै आएको प्रति धन्यवाद व्यक्त गरे ।

मन्त्रीसँगको भेटको क्रममा राजदूत तेइयोङले आफ्नो मुलुक निकै गरिबीबाट अगाडि बढेको भन्दै त्यो बेला नेपालले गरेको सहयोगको स्मरण गरे । राजदूत तेइयोङले भने, ‘हामी गरिबीको चपेटामा परेको बेलामा नेपालले सहयोग गरेको हो । अहिले हामी दिन सक्ने अवस्थामा छौँ । नेपालले सहयोग मागे दिन सक्ने छौँ ।’

उनले थपे, ‘हाल कोरियामा एघार हजार भन्दा बढी नेपाली कामदार कृषि पेसामा छन् । अहिले जति श्रमिक कृषि पेसामा छन्, १० वर्षपछि नेपालमा आएर कृषि पेसामा लाग्ने छन् भन्ने अपेक्षा राखेको छु । हाम्रो मुलुकमा काम गरेर फर्किने श्रमिकले पैसा र सीप दुवै आर्जन गर्ने छन् । त्यो आफ्नो दक्षतालाई नेपालको कृषि उत्पादनमा लगाउने आशा राखेको छु ।’

सोही क्रममा राजदूत तेइयोङले आगामी नोभेम्बरसम्ममा कोरियाका कृषि मन्त्रीले नेपाल भ्रमण गर्ने जनाएका छन् ।

मन्त्री भुसालले दुई देश बीचमा एमोयु तयार गरी अगाडि बढाउने प्रस्ताव राखेका थिए । जवाफमा राजदूत तइयोङले आफ्नो मुलुक कृषि बाट नै अगाडि बढेको भन्दै नेपाललाई सहयोग आफूहरू तयार रहेको बताए ।

प्रतिक्रिया