
राष्ट्रिय सभामा पनि एमालेको अवरोध, बैठक २६ गतेसम्म स्थगन
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ । एमालेको अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन ।
बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।
एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक साउन २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।
यसअघि बुधबार नै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो । एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ ।



कागजपत्र |
