
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिम्रौनगढ नगरपालिकाका वडा नम्बर ३ मा सामुदायिक भवन निर्माण कार्य र सोही वडाको नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्टा बिल भरपाई बनाएको, नगरपालिकासँग गरेको सम्झौताको शर्त पालना नगरी नगरेको कार्यसमेत गरेको भनी मूल्याङ्कन गरी गराई भुक्तानीका लागि पेश भएको कार्य सम्पन्न प्रतिवेदन बमोजिम ३७ लाख, ९३ हजार, ३ सय ९२ रुपैयाँ भुक्तानी गरी भ्रष्टाभार गरेको हारोपमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आर्थिक बर्ष २०७७र०७८ मा सञ्चालित योजनाहरूमा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नगराई रकम हिनामिना तथा भ्रष्टाचारजन्य कार्य गरेको भन्ने संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदनबारे अख्तियारमा परेको उजुरीको आधारमा उनीहरुमाथी छानविन गर्दा उक्त आरोप पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सव–इन्जिनियर उपेन्द्र कुशवाहालाई ३७ लाख, ९३ हजार, ३ सय ९२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।



कागजपत्र |
