
नेविसंघका दुईपक्षबीच झडप, सानेपा प्रवेशमा रोक लगाएपछि असन्तुष्ट पक्षको सभापति देउवाको घर घेर्ने चेतावनी
काठमाडौं – नेविसंघमा मनोनित भएका ७१० केन्द्रीय सदस्यका बारेमा असन्तुष्ट रहँदै पार्टी कार्यालयमा कार्यक्रम गर्ने असन्तुष्ट पक्षलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
पार्टी कार्यालयमा प्रहरीले धरपकड गरी प्रवेशमा रोक लगाइएपछि उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने चेतावनी दिएका छन् । पार्टी कार्यालयको गेटमा सूचना नै टाँस गरेर चार तहका नेतालाइ मात्र प्रवेशका लागि अनुमति दिइएको छ ।
केन्द्रीय कार्यालयमा भेला आयोजना गरेर समानान्तर समिति गठनका लागि गएका विद्यार्थी नेताहरूलाई सडकमै प्रहरी लगाएर रोकिएपछि केहीबेर दुई पक्षबीच झडपको अवस्थासमेत आएको थियो ।
सभापति दुजाङ शेर्पा पक्ष नाराबाजी गर्दै सोही ठाउँमा पुगेपछि सामान्य झडप समेत भएको थियो । प्रहरीले दोहोरो झडप हुन नदिन बीचमा बसेर रोकेको छ । संस्थापन पक्षको अवरोधबीच कोणसभालाई सम्बोधन गर्दै त्रिविका पूर्वसभापति योगेन्द्र रावलले भाडाका गुण्डा र प्रहरी लगाएर आफूहरुलाई रोकिएको भन्दै भोलि सभापति देउवाको घर घेराउ गर्न जाने बताए ।
उनले भने, ‘हाम्रा महामन्त्रीका दैलो पनि देखेका छौं, भोलि हामी शेरबहादुर देउवाको घर घेर्न जाँदैछौं । नेविसंघ भनेको कसैका भतिजा, कसैका साला र केही नेताका गर्लफ्रेण्ड व्यवस्थापन गर्ने संस्था होइन । के नेविसंघको सदस्य हुन नेताको साला भतिजा र गर्लफ्रेण्ड हुनुपर्ने हो ? हामी यो स्वीकार गर्दैनौं र अब देशभरका साथीहरू बोलाउँछौं ।’
नेविसंघको ७१० सदस्यीय केन्द्रीय कार्य समिति गठन भए पनि विवाद बढेको छ । असन्तुष्ट नेताहरूले समानान्तर कार्य समिति घोषणा गर्ने तयारी थालेका छन् भने दुजाङ पक्षले भेलामा सहभागी नहुन चेतावनी दिएको छ । जसबाट नेविसंघ बीचनै झडप हुन सक्ने देखिएको छ ।



कागजपत्र |
