ट्रयाक रेकर्डले नै ‘उत्तम’ प्रहरी अधिकारी हुन् भागरथी प्रकरण सल्टाउने डिआईजी सुवेदी


काठमाडौं– कुनै लेखकले भनेका छन्– जब जनताको सुरक्षा र न्यायको कुरा हुन्छ, म प्रहरी प्रमुख र अधिकारीका भनाई सुन्छु। कुनै समाचार पोर्टलका खबरहरू मात्र होइनन्।

यहि भनाई अहिले बैतडीकी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धानका क्रममा स्थानीयले भनिदिए, सबैलाई। उनीहरूले विश्वास गरे र अनुसन्धानमा अहोरात्र खटिएका प्रहरी अधिकारीलगायतको टोलीलाई सम्मान गरिदिए। ‘मिडियाहरूले प्रश्न उठाउन् या आलोचना गरुन् त्यो कुनै विषय भएन। तर, प्रहरीले सफल अनुसन्धान गरेको छ। यसैमा खुसी छौं’, स्थानीय भन्छन्,‘१३ दिनसम्म यहाँ बसेर अनेक प्रकारले अनुसन्धान भएको हाम्रो आँखाले देखेका छौं।’

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी भागरथी हत्या प्रकरण हुनासाथ घटनास्थलमा आफैं अनुसन्धानमा खटिए। उनलाई चुनौति थियो– यो निर्मला पन्त प्रकरण जस्तो नहोस्। अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गर्ने क्रममा पनि उनले त्यो चुनौतिलाई स्मरण गर्दै अनुसन्धानमा सफलता मिलेको दाबी गरे।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथीलाई दिनेशले भीरबाट लडाएर घाइते बनाएपछि घाँटी थिचेर हत्या गरेको साबिती बयानले मात्र होइन, समय र घटनाक्रमले पुष्टि गरेपछि डिआईजी सुवेदीलगायतको टिमले अभियुक्त निक्र्यौल गरेको थियो। यसभित्र रहेका नेपथ्यका कतिपय कारणचाहिँ प्रहरीले आगामी चरणमा खुलाउँदै जानेछ, तत्कालका लागि जति चाहिने हो, त्यति सतहमा जानकारी गरायो।

डिआईजी सुवेदीको नेतृत्वमा भएको यो मात्र सफल अनुसन्धान होइन। उको ट्रयाक रेकर्ड नै अपराधमाथि हावी हुने र अपराधीलाई कस्टडीको बास गराउने छ। ‘आफ्नो ब्याचमा नामले मात्र होइन, कामले नै उत्तम प्रहरी अधिकृत हुन् सुवेदी’, उनका सहकर्मी भन्छन्,‘यस्ता प्रहरी अधिकारी पाउन निक्कै मुस्किल पर्छ नेपालमा।’

उनको ट्रयाक रेकर्ड नै अपराधमाथि हावी भएको छ। जुन बेला प्रहरी उपरिक्ष (एसपी) थिए, सुवेदी सर्लाही जिल्ला प्रमुख भएर गएका थिए। प्रहरी प्रमुखको लागि चुनैति र अवसर बोकेको जिल्लाको रुपमा सर्लाही पर्दछ। राजमार्गमा पर्ने तराईको यस जिल्लाको सीमा भारतसँग पनि जोडिएका कारणले अपराध नियन्त्रण र न्युनिकरणका लागि प्रहरी अधिकारीहरूका लागि सँधैको चुनौति बनेको जिल्ला थियो।।

सुवेदी त्यसबेला सर्लाहीमा मात्र नभएर मधेसको दूरदराजमा समेत  ‘सेलिब्रेटी’को रुपमा पहिचान बनाउन सफल भएका थिए। जनकपुरमा बस्दा कुख्यात गुण्डा नाईके सञ्जय टक्लालाई पक्राउ गर्न हिम्मत राखेकै कारण उनलाई तराईका बासिन्दाले ‘सिंघम’ नाम उपहार दिएका थिए । त्यसबेला उनलाई उत्तम सुवेदी होइन, सिंघम सुवेदीको नामको नयाँ परिचय थपिदिएको थियो। सुवेदीले टक्लालाई पक्राउ गर्ना साथ मधेसका विभिन्न झुन्डमा रहेका आपराधिक समूहको सात्तो उडेको थियो।

त्यसपछि सर्लाहीमा उनले दुई महिनाको अन्तरालमा २०५० सालदेखि फरार रहेका तीन सय अभियुक्तलाई पक्राउ गरेर देखाए। ति मध्य १५० जना जेल चलान नै गराएका थिए। बिषेश गरी कर्तव्य ज्यान, खुनडाँका, जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको उनले बताए।

अपराधबाट समाजलाई मुक्त राख्न आफू मातहत सबै प्रहरी युनिटलाई हाईअर्लट राख्दै कुनै पनि किसीमबाट अपराधीसँग साँठगाँठ राख्ने प्रहरीलाई कडा कारवाही गर्न थालेपछि सर्वसाधारणले समेत सुरक्षाको अनुभूती गर्न थालेका थिए।

सुवेदीले प्रहरीबाट कुनै सहयोग आवश्यक परे दलाललाई साथ नलिई सोझै प्रहरी कार्यालयमा आउन सार्वजनिक आह्वान समेत गरेका थिए। फिल्डमा आफैं खटिने उनको आनीबानी थियो। उनीमाथि विश्वास गरेका पूर्वप्रहरी महानिरिक्षक (आईजी)हरू भन्छन्,‘यस्ता अफिसर संगठनले पाउनु भनेको नेपाल प्रहरीको नाक जोगाउने काम हुनु हो।’

भागरथी प्रकरण सल्टाउनका लागि उनको सक्रियतालाई त हाल गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रशंशा गरेका छन्। यति मात्र नभएर प्रतिपक्षी दलदेखि आम सर्वसाधारणले उनको खटाइलाई सलाम भनेका छन्।

एसपी सुवेदीले सार्वजनिक कार्यक्रममा प्रहरीले घुस खाएको फेला पारे तत्काल खबर गर्न सर्वसाधारणलाई समेत अनुरोध गदै भनेका थिए, ‘म घुस खाने प्रहरीको जागिर खाइदिन्छु।’ सुवेदीले जिल्ला सम्हालेसँगै एक प्रहरी साहयक निरक्षक, केही प्रहरी हव्लदार र प्रहरी जवान गरी १९ जना कारवाहीमा परिसकेका थिए।

सुवेदीले सुकुम्बासीको नाममा विभिन्न व्यक्तिहरूले अतिक्रमण गरेको सागरनाथ वन विकास परियोजनाको सात सय बिघा जमिन खाली गराएपछि सर्लाहीबासीको नजरमा उनी सिंघम बन्न पुगेका थिए। तराईमा बिकराल रहेको दाइजो प्रथा निरुत्साहिन गर्ने सुवेदीले प्रहरी मेरो साथी कार्यक्रम लिएर जनमासमा पुगेका थिए।

एसी भएका बेला मात्र होइन, एसएसपीको कार्यकालमा पनि उनले उल्लेख्या अपराधमा सफल अनुसन्धान गरे। काठमाडौंको प्रहरी प्रमुख भएका बेला गुन्डागर्दीलाई ‘कोमा’मा मात्र राखेनन्, अन्तर्राष्ट्रिय अपराधको सञ्जाललाई पनि कानुनी बाटो देखाए। राजधानीलगायतका ठाउँमा चिनियाँ, युरोपेली गिरोहले बैंकका एटीएमलगायतमा गरिरहेको ठूलो आर्थिक अपराधको सञ्जाल तोडिदिए।

‘अप्रेशनमा प्रायः आफैं हिँड्ने सरको बानी छ। उहाँले अपराधलाई कसरी निर्मूल पार्ने र अपराधीलाई कसरी पहिचान गरी उम्कन नदिने भन्ने विषयमा मिहिन अध्ययन गर्नुहुन्छ’, उनीसँग काम गरेका एक अधिकारी भन्छन्,‘उहाँ जस्तो प्रहरी अधिकारीको नेतृत्व खाँचो छ भन्ने लाग्छ।’

संगठनमा पनि उनी अग्रपंक्तिमा आउने अधिकारीमा पर्छन्। उनी सुदूरपश्चिम जानासाथै निर्मला पन्त प्रकरणको अनुसन्धानमा मिहिन हिसाबले लागेका थिए। अहिले उक्त अनुसन्धानलाई जारी राखिरहेका बेला भागरथी प्रकरण चुनौतिका रुपमा अघि आयो। जसलाई डिआईजी सुवेदी आफैं खटेर सल्टाइदिए। ‘अझै अनुसन्धान जारी छ। सबै पूरा भएपछि शतप्रतिशत कारणसहितका विवरण खुल्नेछन्। अनुसन्धानको विषयलाई तत्काल सतहमा लैजाँदा प्रभावित हुन्छ’, अधिकारीहरू भन्छन्।

प्रतिक्रिया