

अरुण पोखरेललाई भन्सार प्रमुखबाट हटाइयो, टोकराज पाण्डेलाई जिम्मेवारी

काठमाडौं – एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।
यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।
पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी बिदामा रहेका थिए । उनी २ महिनादेखि छुट्टीमा छन् ।
पोखरेल बिदामा रहेकै बेला साउन ३ गते विमानस्थल भन्सारबाट पास भएर बाहिरिएको करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त प्रहरणमा विभागले एजेण्ट र भन्सारका कर्मचारीसहित १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

