

सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्नेगरी हुने दाबी गरेका छन्।
उनले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि बताए।
बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरुसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताएका छन्।
उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्याउने आश्वासनसमेत दिए। अर्थ मन्त्रालयसँग समन्वय गरेर सो कामलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ थियो।

