

बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं – बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ध्रुवप्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।
अर्याल र घिमिरेलाई काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने त्यतिखेर घिमिरे समरजंग कम्पनीका प्रमुख थिए ।
सरकारी जग्गा व्यक्तिको नाममा सारेको उक्त प्रकरणमा यसअघि पक्राउ परेका ९ जना प्रहरी हिरासतमा छन् । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

