यूएईविरूद्ध नेपाललाई चाैथो सफलता, गुल्सनले लिए कप्तान भृत्यको विकेट


काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को चौथो विकेट लिएको छ । यूएईको चौथो विकेट गुल्सन झाले लिएका हुन् । उनले यूएईका कप्तान भृत्य अरविन्दको विकेट लिएका हुन् । गुल्सनले अरविन्दलाई ४४ रनमा बोल्ड गरेका हुन् ।

त्यसअघि स्पिरन सन्दीप लामिछानेले यूएईको २ विकेट लिएका थिए । उनले यूएईका चौथो नम्बरका ब्याट्सम्यान रमिज सहजादलाई १० रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लू र आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका हुन् । सन्दीपले उनलाई २८ रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराए ।

त्यसअघि नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराएका थिए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेको थिएन ।

नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको थियो । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो । उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्ड विरुद्धको खेलमा विजयी हुने टोलीले सातौं र पराजित हुने टोलीले आठौं वरीयता प्राप्त गर्नेछ ।

यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाविरुद्दको खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १० औं वरीयता प्राप्त गर्नेछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ ।

प्रतिक्रिया