अस्तव्यस्त अदालत, साढे २ देखि कानुन व्यवसायीको विरोध


काठमाडौं – देशभरका अदालत आइतबार अस्तव्यस्त बनेका छन् । न्यायसेवाका कर्मचारीहरुले बिहान १० बजेदेखि साढे १ बजेसम्म  ‘पेन डाउन’ गर्दा प्रभावित भएको न्यायालय दिउँसो साढे दुई बजेदेखि कानुन व्यवसायीका कारण प्रभावित भएको छ ।

कानुन व्यवसायीहरुले आइतबार साढे दुई बजेपछि देशभरका अदालतमा बहस नगर्ने घोषणा गरेका छन् । जसका कारण अदालतमा बहस प्रभावित हुने भएको हो ।

ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको भन्दै अदालतका कर्मचारी र कानुन व्यवसायी एक अर्काको विरोधमा कार्यक्रमसहित उत्रिएका हुन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी लामिछानेमाथि गलत ढंगले कारबाही गर्न खोजिएको बताउँदै आइतबार साढे दुई बजेदेखि देशभरका अदालतमा कानुन व्यवसायीले बहस नगर्ने जानकारी दिए । अदालतले उक्त घटनाको सिसिटिभी फुटेज नदेखाए पछि घटनाको रहस्य फरक रहेको भन्दै कानुन व्यवसायीहरुले पनि विरोध गरेका हुन् ।

प्रतिक्रिया