

भारतीय गृहमन्त्री शाहको ‘भाजपा विस्तार गरेरै नेपालमा भारत अनुकुल सरकार बनाउने दाबी’

काठमाडौं– भारतमा सरकार हाँकीरहेको भारतीय जनता पार्टी (भाजपा) विस्तार गरी अनुकुलको सरकार बनाउने रणनीति रहेको त्यहाँका गृहमन्त्री अमित शाहको भनाई सार्वजनिक भएको छ। नेपालमा मात्र नभएर भाजपा श्रीलंकामा पनि विस्तार गरिने रणनीति रहेको शाहको भनाई सार्वजनिक भएको हो।
नेपालमा राजनीतिक संकट चलिरहेका बेला शाहको यस्तो रणनीतिबारेको खुलासा बाहिर आएको हो। त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवलाई उल्लेख गरी द वायरले यस विषयको खुलासा गरेको छ।
द वायरले विप्लव देवसँग अमित शाहले शनिबार भएको भेटमा नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापित गर्ने योजना रहेको बताएको उल्लेख गरेको छ ।
त्रिपूरा भ्रमणमा गएका गृह मन्त्री शाहले रविन्द्र शतवार्षिकी भवनमा भएको पार्टी बैठकमा भारतका सबै राज्यमा जित हाँसिल गरेपछि छिमेकी देशमा पनि पार्टी स्थापना गरेर सरकार बनाउने योजना रहेको बताएका थिए।
भाजपाका उत्तरपूर्वी क्षेत्रका सचिव अजय जामवालले भाजपाले देशका धेरै राज्यमा सरकार बनाएको र त्यसको जवाफमा अमित शाहले श्रीलंका र नेपाल बाँकी रहेको बताएका थिए। शाहलाई उदृत गर्दै भनिएको छ,‘हामीले श्रीलंका र नेपालमा पनि पार्टी बिस्तार गर्नु पर्छ र जित निकालेर सरकार बनाउनु पर्छ।’
पश्चिम बंगालमा केही दिनमा हुने विधान सभा चुनावपछि भाजपा सरकार बन्ने दाबी समेत गरिएको छ। शाहको उक्त रणनीतिक खुलासाको संकेत भाजपाप्रति झुकाव राख्ने कतिपयले अनेक प्रकरणमा गरेका थिए।
भारतीय हिन्दूवादीले नेपालमा हिन्दू राज्यका लागि पहल गर्नुपर्ने र त्यसका लागि सहयोग गर्ने पनि बताउँदै आएका थिए।

