

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५३ लाख ८ हजारसहित एक जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको ५३ लाख ८ हजार रुपैयाँ नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला परेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठाइएको छ ।

