

डिएसपी बोहोराको निर्देशनमा हिरासतका बन्दीमाथि कुटपिट, कानबाट रगत आएपछि अस्पताल भर्ना

बनेपा – इलाका प्रहरी कार्यालय बनेपामा हिरासतमा लिइएका व्यक्तिमाथि प्रहरीले नै कुटपिट गरेकाे छ ।
इप्रकाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहरामाथि हिरासतभित्र रहेका बन्दीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप लागेको हो ।
बोहोराले मातहतका प्रहरीलाई लगाएर हिरासतमा रहेका बन्दीहरुलाई निर्घात कुटपिट गरेको पीडितका परिवारजनले जनाएका छन् । हिरासतभित्रै कुटिएका घाइते बन्दीलाई उपचारका लागि स्थानीय शीर मेमोरियल हस्पिटलमा भर्ना गरिएको छ । कुटपिटबाट एकजनाको कानबाट रगत नै आएको छ ।
बनेपाको रोयल लन्चबारमा केही समयअघि शुक्र लामाको समूह र स्थानीय केही युवाहरूबीच भएको झडपको विषयमा प्रहरीले कालीकुमार लामा, दिपेन्द्र नेपाली, रमेश शाही ठकुरी, दिपेन्द्र नेपाली, मनोज लामा र विजयी लामालाई पक्रेको थियो । सामान्य झगडामा पनि लामाको सेटिङमा आफ्ना आफन्तलाई मात्रै एकतर्फी पक्रेर ज्यान मार्ने उद्योगको मुद्दा चलाउन खोजेको र मुद्दा ठहर नहुने भएपछि प्रहरी लगाएर कुटपिट गरेको हिरासतमा रहेका बन्दीका परिवारको आरोप छ ।
डिएसपी बोहोराले लन्चबार सञ्चालक लामासँगको मिलेमतोमा उनीहरुलाई सजाय दिनका लागि कुटपिट गरिएको पीडितका परिवारले जनाएका छन् ।
स्रोतका अनुसार डिएसपी बोहराले बन्दीहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्न लगाइएको हाे ।
यस विषयमा काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक (एसपी) भाग्येन्द्र पुरुष ढकालले प्रहरीबाट कमजोरी भएको जनाउँदै आवश्यक अनुसन्धानपछि दोषीमाथि कारबाही गर्ने जनाएका छन् । उनले घटनाको अनुसन्धान गरी वास्तविकता समेत पत्ता लगाउने जनाए ।
डिएसपी बोहराले भने कार्यालयमा त्यस्तो कुनै घटना नभएको जनाएका छन् ।

