

शरणार्थी प्रकरण : १६ जनालाई नै थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका १६ जना नै थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

