
खाँणको पहिलो रातः परिसर मेसकै खाना, डिएसपीको कार्यकक्षमा ओच्छ्यान !
काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात काठमाडौं प्रहरी परिसरमै बिताएका छन् ।
बिहान पक्राउ परेपछि दिनभरि बयान, स्वास्थ्य परिक्षण, सरकारी वकिलको कार्यालय, काठमाडौं जिल्ला अदालत धाउन परेका खाँण राती भने परिसरकै डीएसपीको कार्यकक्ष सुतेको जनाइएको छ ।
उनलाई प्रहरीले दरबारमार्ग वृत्तमा राख्ने तयारी गरेपछि उनी अन्त नजाने र अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो ।
बुधबार बिहान पक्राउ परे पनि खाणलाई प्रहरीले २४ घन्टाभन्दा बढी अहिलेसम्म हतकडी भने लगाएको छैन । यही मुद्दामा पक्राउ परेका बिचौलियाहरूलाई हतकडी लगाएर अदालत लगिँदा खाण हतकडीमुक्त थिए ।
स्रोतका अनुसार बुधवार साँझ खाणका आफन्त उनको कपडा लिएर परिसर आएका थिए ।
उनकी श्रीमती मञ्जु भने अहिले सम्पर्कबिहीन छिन् । उनी पनि प्रकरणमा मुछिएकोले मोबाइल अफ गरेर बसेकी छिन ।
राती खाणले परिसरकै मेसको खाना खाएको र आज बिहान खाणका दाजुभाउजूले खाना घरबाट ल्याइदिएको जनाइएको छ ।
खाँणलाई बुधबार बिहान उपत्यका अपराध अनुसन्धानका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) डा. मनोज केसीको कमाण्डमा रहेको प्रहरीले चाबहिल मैजुबहालस्थित उनको निवासबाटै पक्राउ गरेको थियो । खाँणसँगै हिजो उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका थिए । यस घटनामा अहिलेसम्म केही उच्च पदस्थसहित १२ जना पक्राउ परिसकेका छन् ।



कागजपत्र |
