शिक्षकले परीक्षा हलबाट निकालेपछि सिम्रनले गरिन् आत्महत्या


काठमाडौँ – चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छिन् । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् ।

परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका थिए । त्यसपछि आफूमाथि अपमान भएको महसुस गर्दै आफ्नो कोठामा गएकी सिम्रन झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ ।

साथै मेडिकल कलेजहरूमा विभिन्न वाहनामा दिइने मानसिक तनावहरूलाई नियन्त्रण गर्न समेत माग गरेको छ । राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भामले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई हेप्ने, तुच्छ शब्दमा गाली गर्ने जस्ता मानसिक यातना दिने गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्नुपर्नेमा बताए ।

 

प्रतिक्रिया