वन्यजन्तुका लागि पोखरी निर्माण


म्याग्दी – वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा म्याग्दीका छ सामुदायिक वनमा वन्यजन्तुका लागि पानी पिउन पोखरी निर्माण गरिएका हुन् ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए । ‘वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो,’ उनले भने, ‘वनमै पानी र आहरा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन छवटै स्थानीय तहमा एक/एक सामुदायिक वन उपभोक्ता समूह छनोट भएका थिए । छनोट भएका सबै समूहले कार्य सम्पन्न गरेका हुन् । करिब ६२ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर रहेको छ । प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी दिइने छ ।

बेनी नगरपालिका-७ का बराहपाखो, धवलागिरि–७ को भगवती महिला, अन्नपूर्ण-८ को घुमाउने कोखे सल्लेरी, मङ्गला-२ को खुम्लीया, मालिका-६ को दह, रघुगङ्गा-१ को बादुक भूमेबराह सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताए।

गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दीका दश सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण गरिएका थिए । दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले जङ्गलको बिचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर सङकलन गरिएको बताए । पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उनको भनाइ छ ।

बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले पोखरीले जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताए। जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुने उनले बताए । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु मानव बस्तीमा आएर क्षति पुर्‍याउन थालेका छन् ।

आहरा र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृगलगायत जन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका छन् ।

प्रतिक्रिया