लोबुचेमा फहराइयो राष्ट्रियसहित प्रहरी र इन्टरपोलको झन्डा


काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले नेपालको राष्ट्रिय झण्डा तथा नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा लोबुचे हिमालमा फहराएका छन् ।

इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली र आरोहण दलले शुक्रबार ६ हजार ११९ मिटर उचाईको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको हो ।

सो क्रममा उनले नेपालको राष्ट्रिय झण्डा तथा नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा लोबुचे हिमालको चुचुरोमा फहराएका हुन् । इन्टरपोलको १००औं सदस्य राष्ट्र नेपालको तर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झन्डाहरू फहराउनका लागि नेपाली गत चैत ३० गते प्रहरी प्रधान कार्यालयबाट विदा भएका थिए ।

उनलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नाका साथै आरोहण दललाई शुभकामनासहित विदाइ गरेका गरेका थिए ।

नेपाल प्रहरीले विभिन्न कालखण्डमा पर्वत, हिमाल आरोहण गरिसकेको छ । पहिलो पटक विसं २०३१ सालमा प्रहरी कर्मचारीका ९ सदस्य टोलीले ६ हजार ९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उद्देश्यका साथ विसं २०३३ सालमा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएपश्चात नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले विसं २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले विसं २०४१ भदौ २६ गते ६ हजार ११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

प्रतिक्रिया