
जसले प्रहरीको साख जोगाए उसैलाई जागिर जोगाउन गाह्रो
अनुसन्धानमा अब्बल मानिएका अधिकृतहरु ‘साईड’ लागेपछि राजधानीको कपनमा गत साता भएको निरु पाण्डे हत्याकाण्ड जस्तै घटनाको अनुसन्धानमा पूर्णविराम लाग्यो
काठमाडौं – राजनीतिक हस्तक्षेप र प्रहरी संगठन भित्रको गुट र उपगुटको फोहोरी खेलका कारण नेपाल प्रहरी संगठन लथालिंग हुन पुगेको छ ।
राजनीतिक दलले प्रहरीलाई आफू अनुकुल चलाउन खोज्ने र प्रहरीभित्रका केही उच्च अधिकारीहरुले संगठनका आफू भन्दा कनिष्ठ सदस्यहरुप्रति गुटगत व्यवहार गर्दै यस्को मान्छे र उस्को मान्छे भन्दै विभिन्न आरोप लगाउँदै बदनियत राखी कारवाही गर्ने, अनावश्यक रुपमा सरुवा गरिदिने जस्ता कारणले प्रहरी संगठन विवादित बन्दै आएको छ ।
विशेष गरी उपत्यका अपराध अनुसन्धान महाशाखा र नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईबी) मा कार्यरत प्रहरीहरु उच्चपदस्थ अधिकारीको तारो बन्दै आएका छन् ।
महाशाखा र सिआईबीले ठूला–ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनेका जघन्य अपराधका अनुसन्धान गर्दै आएका छन् । यस्ता ठूला घटनाका अनुसन्धानमा सफलता पाउँदा तत्कालिन कार्यालय प्रमुखको नाम मिडियामा छाउँदा प्रतिस्पर्धीका रुपमा देखिएका अर्का उच्च अधिकारीले त्यो घटनाको अनुसन्धानमा जोडिएका अनुसन्धान अधिकृतहरुलाई तारो बनाउँदै आएका छन् । जसका कारण प्रहरी सहायक निरीक्षकदेखी डिएसपीसम्म आईजीपीदेखि एआईजीको आँखाको कसिंगर बन्दै आएका छन् । जसकारण अनुसन्धानमा अब्बल मानिएका ‘काबिल’ अफिसरहरु पछिल्लो समय ‘सिभिल’ बसेर काम गर्न रुचाउँदैनन् ।
लामो समयदेखि अत्यावश्यक स्रोत साधनको अभावमा पनि अपराध अनुसन्धान महाशाखा र सिआईबीमा बसेर प्रहरीको साख धान्दै आएका कतिपय थिए । भारतलगायत बिदेशमा लुकेर बसेका अपराधीलाई नेपाल ल्याउनेदेखि आफूले जागिर खानुभन्दा अगाडी घटेका जघन्य अपराधका घटनाका सफल अनुसन्धान गर्न सक्षम भएका थिए ।
डेढ दर्जन प्रहरी अधिकृतले आफ्नो ज्यान नै फालेर प्रहरी साख जोगाउन लागे । तर उनीहरुले त्यही संगठनबाट बेला बेलामा जागिर नै जानेसम्मको आरोप खेप्दै पीडित हुन पुगे ।
यसरी लामो समय अपराध अनुसन्धानमा बसेर काम गर्ने एसएसपी सोमेन्द्र सिंह राठोर, एसपी कृष्ण कोईराला, डिएसपीहरु अंगुर जीसी, डिएसपी कुमोद ढुंगेल, रुगम कुवँर, ईन्स्पेक्टर दिपेन्द्र चन्द, गजेन्द्र रावल, बरिष्ठ सई रमेश बजगाईलगायतका छन् । जसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चासोका साथै जघन्य अपराधका सफलताका साथ अनुसन्धान गरेर आफूलाई अब्बलमात्र सावित गरेनन् नेपाल प्रहरीलाई बलियो संगठनका रुपमा स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेले ।
प्रहरीका कतिपय उच्च अधिकारी र राजनीतिक दलका नेताहरुको आडमा गुण्डागर्दी र तस्करी गर्नेहरुको यी प्रहरी सामू पर्नासाथ होसहवास नै उड्ने गर्छ । राजनीतिक दलका नेताहरुसँग गुण्डा र तस्करहरुको हिमचिमका कारण अनुसन्धानमा अब्बल मानिएका प्रहरी अधिकारीहरुलाई संगठनभित्रका साथै राजनीतिक क्षेत्रबाट पनि ‘थ्रेट’ उत्तिकै छ । गुण्डा, तस्कर र माफियाहरुको राजनीतिक दल र तिनका नेताहरुसँग पनि उत्तिकै उठबस हुने हुँदा ती दलालहरुलाई खुशी पार्न पनि नेताहरुले अनुसन्धानमा अब्बल प्रहरी अधिकृतहरुलाई ‘बलिको बोका’ बनाउँदै आएका छन् ।
राजनीतिक नेतृत्व र संगठनभित्रकै गुटका कारण पछिल्लो समय प्रहरी संगठनको लागी ज्यानै फालेर काम गर्ने प्रहरी अधिकृतहरु अहिले जागिर जोगाउन लागी परेका छन् । हिजो अपराध महाशाखा र सिआईबीमा बसेर संगठनको साख जोगाउने यी प्रहरी अधिकृतहरु अहिले कुनै ‘रिस्क’ लिन चहाँदैनन् । यी अधिकृतहरु अहिले प्रहरीका विभिन्न यूनिटमा कार्यरत छन् ।



कागजपत्र |
