

राजीनामा दिने तयारीमा मुख्यमन्त्री अधिकारी

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने समयसीमा सकिनै लाग्दा पदबाट राजीनामा दिने तयारी गरेका हुन्।
राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिएपछि खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
सरकारमा रहेको कुनैपनि दलले समर्थनसहित सरकारबाट फिर्ता भए एक महिना भित्र संसदबाट विस्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमनत्री अधिकारीले संसदमा विस्वासको मत नपाउने संकेत देखेपछि राजिनामा दिन लागेका हुन् ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख प्रमुख पृथ्वीमान गुरुङ हुँदै यो सूचना प्रदेश सभा सचिवालयमा पनि पुगिसकेको छ ।
६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा २७ सांसदसहित काँग्रेस सबैभन्दा ठूलो दल छ भने ८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन सहज बहुमत पुग्ने देखिन्छ ।

