

कुटपिटमा परेको ३ महिनापछि मोरङमा एक वृद्धको मृत्यु

विराटनगर – सामूहिक कुटपिटबाट गम्भीर घाइते भएका मोरङको पथरीशनिश्चरे नगरपालिका-४ प्रगति टोलका १ जना वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कुटपिट भएको ३ महिनापछि पथरीशनिश्चरे-४ का ६२ वर्षीय टेकबहादुर थापाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार छिमेकीको घरमा न्वारानमा गएका बेला आपसी विवाद हुँदा गत पुस २८ गते राति ८ बजेतिर थापामाथि निर्घात कुटपिट भएको थियो । बियरको बोतल र लात्ता प्रहारबाट उनी गम्भीर घाइते भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
स्थानीयले उनलाई सडक किनारमा अचेत अवस्थामा फेला पारेका थिए । थापालाई तत्काल उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएको थियो । नोबेलमा ३ महिनासम्म उपचार गराउँदा पनि ठीक नभएपछि परिवारका सदस्यले गत मंगलबार घर फर्काएर लगे । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेतर्फ लैजाने क्रममा बुधबार बिहान ५ बजेतिर थापाको मृत्यु भएको डीएसपी दाहालले बताए ।
उनका अनुसार घटनामा संलग्न ३ जनालाई त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले १ महिला र २ बालकलाई पक्राउ गरेको हो । स्थानीय २१ वर्षीया शुलोचना थापा कार्की तथा १६ र १७ वर्षका २ बालक पक्राउ परेका थिए । पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो ।

