शान्ति सुरक्षा र अपराध नियन्त्रणमा इप्रका टिकापुर सक्रिय !


काठमाडौं – इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीले मातहत क्षेत्रमा हुने गुण्डागर्दी, बालुवा तस्करी, गाँजा तथा लागूऔषधमा संलग्नहरू पक्राउ र निगरानी बढाएको छ । टिकापुर प्रहरीले गुण्डागर्दी र लागूऔषधको कारोबारीहरुलाई निमिट्यान्न पार्न खोजेपछि स्वार्थ समूहरुको होसहवास नै उडेको छ ।

केही महिना अघिमात्र टिकापुर प्रहरी इन्चार्जको रूपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धव सिंह भाटले कमाण्ड सम्हालेसँगै गुण्डागर्दीमा संलग्न, बालुवा तस्कर, लागू औषध र आपराधिक क्रियाकलापमा संलग्नहरूमाथि कारबाही तिब्र पारिएको हो ।

पछिल्लो केही समययता बढिरहेको गुण्डागर्दी र लागूऔषध दुर्व्यसनका घटनाले शान्ति सुरक्षालाई चुनौती दिइरहेको बेला टिकापुर प्रहरीको सक्रियताले अहिले कुनैपनि त्रास र भय सिर्जना नभएको स्थानीयहरुले बताएका छन् । डिएसपी भाटले कमाण्ड सम्हालेपछि यस क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आएको स्थानीय पदम साउदले बताए ।

डिएसपी भाटले गत २५ माघदेखि टिकापुरको कमाण्ड सम्हालेका हुन् । भाटले कमाण्ड सम्हालेपछि हालसम्म लागूऔषधमा १८ वटा मुद्दा दर्ता भएको छ भने २६ जना पक्राउ परेको इप्रका टिकापुरले जनाएको छ । पक्राउ परेकाको साथबाट ४७.४३० ग्राम खैरो हेरोइन, ५० ग्राम ८०० मिलिग्राम चरेस र १ किलो २०० ग्राम गाजा समेत बरामद भएको छ ।

इप्रका टिकापुरका अनुसार डिएसपी भाटको कमाण्डपछि विभिन्न ४१ शीर्षकका मुद्दामा ५८ जना पक्राउ परेका छन् । टिकापुर आएपछि भाटको नेतृत्वमा भएको सबैभन्दा ठुलो अपरेसन भने ग्लोबल ओरियन्स नेपाल प्रा.लि. विरुद्धको हो । उक्त कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपैयाँ उठाएको पाइएको थियो ।

यसैगरि भाटको नेतृत्वमा चलेको स्वीप अप्रेशनमा विभिन्न मितिमा टिकापुर नगरपालिकाको विभिन्न स्थानहरुबाट २५० लिटर अबैध घरेलु मदिरा र ३०० लिटर अबैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारी बरामद गरि स्थानिय जनप्रतिनिधी, उद्योग वाणिज्य संघ टीकापुर, होटल व्यावसायी संघ कैलालीका प्रतिनिधी, बुद्धिजीवी, समाजसेवी र पत्रकार समेतको रोहवरमा नष्ट गरिएको थियो ।

यस्तै इप्रका टिकापुरले विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा जिल्ला अदालतबाट सजाय पाएर फरार रहँदै आएका प्रतिवादीहरुलाई समेत पक्राउ गर्न सफल भएको छ । टिकापुरका स्थानीयको सहयोगका कारण काम गर्न सहज भएको डिएसपी भाट बताउँछन् ।

विभिन्न मुद्दामा फरार भनी तोकिएको प्रतिवादीहरुलाई पक्राउ गरि जरिवाना तथा कैद भुक्तान नगरेकाहरूको पनि खोजी र अनुसन्धान भइरहेको बताउँदै डिएसपी भाट भन्छन्, ‘फैसला कार्यान्वयन अदालतको जनआस्थासँग जोडिएको विषय हो । त्यसैले अदालतको फैसला कार्यान्वयनमा टिकापुर प्रहरी प्रतिबद्ध छ ।’

शान्ति सुरक्षाका निम्ति नागरिक पनि उत्तिकै जिम्मेवार रहने हुनाले नागरिक र प्रहरीको हातेमालोबाट नै समाज सुरक्षित राख्न सकिने डिएसपी भाट बताउँछन् । उनले भने, ‘त्यसैले हरदिन शान्ति सुरक्षामा केन्द्रित भएर सधैंभरी खटिरहनु हामी प्रहरीको जिम्मेवारी हो ।’

टिकापुर प्रहरीले लागूऔषध नियन्त्रण गर्ने अभियान नै चलाएपछि लागूऔषध सेवनकर्ता तथा बिक्री गर्ने स्थानहरुको समेत पहिचान गरिएको डिएसपी भाटले बताए । त्यस्ता स्थानहरुमा टिकापुर प्रहरीले निगरानी राखिरहेको छ । जसले गर्दा अहिले उक्त स्थानहरुमा लागूऔषध कारोबार बन्द नै रहेको प्रहरीको दाबी छ ।

 

गुण्डागर्दी र तस्करी रोकिएपछि स्वार्थ समूहको हायल–कायल

टिकापुर क्षेत्रमा हुने (लागूऔषध बिक्रीवितरण, ढुंगा, बालुवा गिटी तस्कर, गुण्डागर्दी) जस्ता आपराधिक क्रियाकलापलाई टिकापुर प्रहरीले नियन्त्रण गर्न खोजेपछि स्वार्थ समूहले डिएसपी भाटलाई नै नराम्रो बनाउन लागिपरेका छन् ।

राम्रो काम गर्दागर्दै पनि तस्कर र गुण्डागर्दीमा संलग्न व्यक्तिहरु हात धोएर आफूविरुद्ध लागेको डिएसपी भाटले बताए । उनले अनलाइनन्यूजसँगको कुराकानीमा भने, ‘केहि अनलाइनमा आफ्नो व्यक्तिगत तथा व्यवसायिक जीवनमा समेत नकारात्मक प्रभाव पार्ने गरी झुठा विवरण समावेश गरी सुनियोजित रुपमा प्रकाशन गरिएको समाचारले दुःखित तुल्याएको छ ।’

उक्त समाचार सम्बन्धमा प्रकाशन गृहले समेत उल्लेखित विषयवस्तुको सत्य, तथ्य र वास्तविकता साथै स्रोतको परीक्षण समेत नगरी एकतर्फी रुपमा प्रकाशन गरेको हुँदा उनले आफ्नो आत्मसम्मान, इज्जत, प्रतिष्ठा साथै व्यवसायिक तथा सामाजिक जीवनमा समेत आँच आएको डिएसपी भाट बताउँछन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत चुनौती दिँदै डिएसपी भाटले आफुले कहिँकतै नराम्रो काम गरेको भए कारबाही गरेर देखाउन अपिल गरेका छन् । स्वार्थ समूहहरुले गुण्डागर्दी र तस्कर गर्न नपाएर आफूअनुकुलको मिडियामा मनगढन्ते समाचार लेख्न लगाएको भाटले बताए ।

आफूले गरेको काम मन नपरेपछि तस्कर र गुण्डागर्दी गर्न दिनपर्यो भन्दै शक्तिकेन्द्रमार्फत फोन गर्न लगाएको समेत डिएसपी भाटले सार्वजनिक गरेका छन् । उनीहरुको केही नचलेपछि अन्तिममा पीत पत्रकारिता गरेर रोटी सेक्ने अनलाइनमा मनगणन्ते कहानी लेखाएको उनले बताए ।

 

यस्तो छ डिएसपी भाटको फेसबुक स्ट्याटस

म टिकापुर आएपछि एउटा समूह जो कर्णाली नदीबाट अबैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा दोहन गर्ने, पशु हाट बजारबाट अवैध आर्जन गर्ने, र गुण्डागर्दी गरेर समाजमा आतंक सिर्जना गर्न नपाएर छटपटाएको छ र त्यसले पीत पत्रकारिता गरेर रोटी सेक्नेहरुलाई आहारा फालेर समाचार बनाएको रहेछ ।

अर्को समूह जो लागूऔषध कारोबार गर्ने, तस्करी गर्ने, ठगी गर्ने काम बन्द भएकोले मेरो विरुद्धमा प्रमाणहिन, आधारहिन, तथ्यहिन रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार लेखाएको रहेछ । यसरी जे मन लाग्यो त्यही समाचार लेख्ने छुट तिमीहरुलाई कसले दियो पीत पत्रकारिता गर्नेहरु ?

तेरो समाचार पुष्टी हुने प्रमाणसहित छाप्नुपर्दैन ? तैले मेरो बिरुद्ध समाचार लेख्दा मेरा भनाइहरु राख्नुपर्दैन ? केहीलाई भ्रम छर्न सकिएला तर धेरै पाठकहरुलाई तेरो अनलाइनको स्तर थाहा छ । तेरो रोटी सेक्न हामी बदनाम भैदिनुपर्ने हो ? तलाई कुनै कानुन लाग्दैन ? याद गर कानुनी कारवाही गरेरै छाड्छु ।

सत्य, तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्ने मिडियाप्रति मेरो हृदयमा उच्च सम्मान थियो, छ र रहिरहनेछ ।

सबैको जानकारीको लागी मेरो विरुद्ध समाचार लेखाउने समूहले नयाँ डिएसपीले हामीलाई अति पेल्यो, बसिखान दिएन भनेर विभिन्न शक्तिकेन्द्रहरु धाएर केहीबाट मलाई फोन समेत गराएर केही नचलेपछि अन्तिममा पीत पत्रकारिता गरेर रोटी सेक्ने अनलाइनमा मनगणन्ते कहानी लेखाएको हो । 

कसैलाई अध्ययन, अनुसन्धान गर्ने मन भए २०७९ माघ २५ गते म हाजिर भएपछिको हाम्रो फेसबुक Apo Tikapur Kaliali पेज हेर्न सक्नुहुन्छ र प्राकृतिक स्रोत साधनको अबैध दोहन रोकेकोलगायत विषयमा बुझ्न मेरो कार्यक्षेत्र टिकापुर नगरपालिकाका मेयर लगायत जनप्रतिनिधि, जानकी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्षलगायत पदाधिकारी, व्यवसायीहरु, स्थानीय पत्रकार, बुद्धिजिवी, शिक्षक, विद्यार्थी सबैबाट बुझ्न सकिन्छ ।

यस्ता समाचार लेखाएर चरित्रहत्या गरेर कमजोर हुन्छ कि भन्ने तिमीहरुको योजना तिमिहरुका लागगि आत्मघाती हुन्छ कानुन विपरीत काम गरेर खानेहरु । किनकी म झन आक्रमक भएर कर्तव्य पालना गर्छु । यस्ता समाचार लेखाएर क्षति हुने भनेको लेखाउनेहरुलाई र पीत पत्रकारिता गरी लेख्नेहरुलाई हो

प्रतिक्रिया