काभ्रेमा कोभिड नयाँ भेरियन्टका २५ संक्रमित


काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा संक्रमण देखिएको छ । बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए ।

करिब तीन महिनापछि जिल्लामा पाइएको संक्रमण पाँच महिलासहित २५ रहेको जनाइएको छ । जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार आज संक्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक÷एक रहेका छन् ।

काभ्रेपलाञ्चोकमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाइले बताए । सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । ‘नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका छौँ’, सेढाइले भने । उनका अनुसार आज पुष्टि भएका सबैको लक्ष्यण एउटै भएकाले नयाँ भेरियन्टकै संक्रमित हुन् ।

यसअघि संक्रमण पुष्टि भएका ११ मध्ये बनेपाका पाँच, पनौतिका चार र नमोबुद्धका दुई थिए । संक्रमितहरू सबै होम आइशोलेसनमै उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालयले स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ लाई प्राथमिकता राखेर अभियान सुरु गरेको जनाएको छ ।

यसैबीच कोभिड संक्रमण दर बढ्न थालेपछि जिल्लास्थित कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिले सचेतना अपनाउने र आवश्यक तयारी गर्ने जनाएको छ । समितिले कोभिड महामारी फैलँदो अवस्थामा अपनाउनु पर्ने सुरक्षा उपाय, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा कोभिड विरुद्धको खोपलाई अनिवार्य गरिँदै लैजाने, जिल्लाका सबै अस्पताल ताथ स्वास्थ्य केन्द्रमा कोभिड विरुद्धको अभियानलाई आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा निर्णय समेत गरेको छ ।

भीडभाड हुने स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, नियमित हात धुन तथा भौतिक दूरी कायम राख्न सर्वसाधारणलाई अपिल गर्ने र स्थानीय तह तथा स्वास्थ्य संस्थालाई कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहने गरी आवश्यक समन्वयका लागि अनुरोध गरिएको छ । अग्रपक्तिमा खटिने सुरक्षाकर्मी तथा उद्धारका लागि खटिने टिम तयार गरी आवश्यक स्वास्थ्य सुरक्षाका लागि पूर्व तयारी गरिएको जनाइएको छ ।
काभ्रेपलाञ्चोकमा हालसम्म १८ हजार एक सय ७४ लाई कोभिड–१९ संक्रमण भएको थियो । यसमध्ये जिल्लाका एक सय ९६ को मृत्यु भएको थियो ।

प्रतिक्रिया