मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने बजेट ल्याउँछौं : अर्थमन्त्री महत


काठमाडौं – सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेट बनाउँदा साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटमा उनले सरकारले साधारण खर्च घटाउने स्पेस कम भएपनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे। अर्थमन्त्री डा. महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए।

उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको जिकिर गरे।

‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौं। धेरै मागहरू आए पनि धेरै कम गर्न कोसिस गर्छौँ। साधारण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ,’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न सम्भावना कम छ। सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरूमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छौँ।’

अर्थमन्त्री डा. महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताए। उनले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्यअनुसार संकलन राम्रो नभएको दाबी गरे।

‘अहिले सरकारको राजस्वको अवस्था राम्रो छैन। प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राख्दै आएका छौं। नजिक नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ।’

अर्थमन्त्री डा. महतले प्रत्येक वर्ष राजस्वको लक्ष्य बढी राखे पनि हासिल हुँदै आएकामा चालू आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्था आएको बताए। भेटको अवसरमा डा. महतले आन्तरिकरूपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको दाबी गर्दै मौद्रिक नीतिका उपकरणहरू प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको जानकारी दिए।

अर्थसचिव तोयम रायले श्रम रोजगारको क्षेत्रमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा केन्द्रित रहेको बताए। उनले सरकार अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता दिनसक्ने अवस्था नभएको बताए।

सचिव रायका अनुसारसामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत् पाउने व्यवस्थामा जान आवश्यक छ। भेटमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले अर्थमन्त्री महतलाई कार्यकालमा गर्नुपर्ने कामका बारेमा सुझाव प्रतिवेदन पेस गरे। अहिलेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन आगामी बजेटमार्फत् सुधारको योजनाहरू ल्याउन नाफिजको सुझावमा उल्लेख छ। सो अवसरमा ढकालले आर्थिक गतिविधि सुस्ताउँदा सञ्चारजगत मारमा परेको जानकारी गराउँदै आर्थिक पत्रकारको क्षमता वृद्धिमा अर्थ मन्त्रालयले सघाउनुपर्ने बताए।

प्रतिक्रिया