

इंग्लेण्डको नागरिक भन्दै ठग्ने एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमा ‘फ्यांकलिन पाउल’ नाम राखेर ठग्ने एक महिला पक्राउ परेकी छन्।
विदेशी नाम ‘फ्यांकलिन पाउल’ राख्ने महिला हुन अञ्जली बिसुंके। उनको टिकटक आइडी पनि यही नामको छ। उनले आफ्नो परिचय इंग्लेण्डको नागरिक भन्दै दिने गरेकी थिइन्।
उनलाई १५ लाख २० हजार ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
ललितपुर महालक्ष्मीस्थानबाट पक्राउ परेकी उनले टिकटक तथा ह्वाट्सएपबाट विभिन्न झुठा प्रलोभन दिएर रकम ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
उनीविरुद्ध तीन उजुरी परेका छन्। विभिन्न व्यक्तिहरुलाई म्यासेज तथा फोन गरी रकम जम्मा गर्न दवाव दिने गरेको अनुसन्धानबाट खुलेको छ। ‘अनुसन्धानको क्रममा बिसुंके पैसाको लोभमा फसेको देखिन्छ। सामाजिक सञ्जालबाट चिनजान भएको एक पुरुषलाई अञ्जलीले आफ्नो विवरण र बैंक एकाउन्ट दिएकी थिइन। ती पुरुषले अञ्जलीलाई सजिलोसँग पैसा कमाइन्छ भनेर प्रलोभनमा पारेका थिए। उनको बैंक एकाउन्ट प्रयोग गरेर अन्य व्यक्तिले सामाजिक सञ्जालमा फेक आइडी बनाएर ठगी धन्दा गरेको पाइएको छ,’ प्रवक्ता राठौरले भने।
अञ्जलीको आईडी प्रयोग गर्ने व्यक्तिले आफु इंग्लेण्डको नागरिक भएको बताउदै विवाहको प्रलोभन देखाएर लाखौँ रकम ठगी गरेको खुलेको छ। ती पुरुषले आफ्नी श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने प्रलोभन दिने गरेका थिए। उनको प्रलोभनमा धेरै महिला परेका थिए।
ह्वाट्सअपमा म्यासेज गर्दे उनले ‘तिम्रो ठेगानासहितको विवरण पठाउ म उपहार पठाइदिन्छु भन्दै फकाउने गरेका थिए । सुनका गरगहना, आइफोन, जुत्ता, व्याग तथा ७० हजार अमेरिकी डलर सहितको लगेज पठाएको भन्दै मानिसलाई प्रलोभनमा पार्ने गरेको पाइएको उनले बताए।
राठौरले भने, ‘ती अञ्जलीको आइडी प्रयोग गर्ने व्यक्ति को हुन् अहिलेसम्म पत्ता लागेको छैन, हामीले अनुसन्धान गरिरहेका छौँ। विभिन्न व्यक्तिसँग ठगी गरेर अकाउन्टमा आएको पैसा निकालेर अञ्जलीले ती पुरुषलाई दिने गरेकी थिइन्। पैसा पुराउन आफैँ जाने गरेको अनुसन्धानबाट खुलेको छ।’
उनले विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पीडितलाई पटक पटक लाखौ रकम जम्मा गर्न लगाएको खुलेको राठौरले बताए।
पक्राउ परेकी अञ्जलीलाई ठगी कसुरमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

