
डिआईजी ज्ञवालीविरुद्ध पनि जन्ममिति विवादमा अख्तियारमा उजुरी (उजुरीसहित)
काठमाडौं – नेपाली प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी परेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका डीआईजी ज्ञवालीले पहिला जिल्ला प्रशासन कार्यालय प्यूठानबाट नागरिकता लिएको र पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिएको भन्ने उजुरीमा भनिएको छ ।
डीआईजी ज्ञवालीको जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ भदौ २६ र नागरिकतामा २०२४ चैत २१ देखिएको छ । उनको सिटरोल र नागरिकतामा समेत फरक देखिएको छ ।
उनी २०४१ चैत २१ गते १७ वर्ष पुगेको नागरिकतामा देखिए पनि तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय उपलब्ध गराएको प्रमाणपत्रमा उनको जन्म २०२५ साल भदौ २६ गते देखिएको छ । डीआईजी ज्ञवालीले २०५० साल पुष ९ गते भर्नाका लागि खुलाएको विज्ञापनमा आवेदन दिएर भर्ना भएका थिए । उनको नागरिकताको प्रमाणअनुसार उनले प्रहरीमा भर्ना हुने पाउने देखिँदैन । उनको नागरिकताको प्रमाणपत्रअनुसार भर्ना हुन खुलाइएको विज्ञापनको मितिसम्म उनी २६ वर्ष भएको देखिन्छ । प्रहरीमा भर्ना हुन २५ वर्षसम्म मात्र पाउने व्यवस्था छ । उनले नागरिकता सच्चाएर भर्ना भएको आरोप लागेको छ ।
उनको विवाद आएपछि अख्तियार दुरुपयोग आयोग अनुसन्धानले प्रहरी प्रधान कार्यालयलाई शैक्षिक प्रमाणपत्र र सिटरोललगायत विषयका सक्कल कपी उपलब्ध गराउन परिपत्र गरेको थियो।
‘उनी (डीआईजी ज्ञवाली) ले इन्स्पेक्टर हुँदा उमेर नाघेको प्रारम्भिक छानबिनमा देखिएको छ । अख्तियार दुरूपयोग आयोग अनुसन्धानका प्रवक्ता श्यामप्रसाद भण्डारीले डीआईजी ज्ञवालीविरुद्ध उजुरी परेको र त्यस विषयमा छानबिन भइरहेको बताए । ‘उहाँविरुद्ध उजुरी परेको छ । आवश्यक छानबिनका लागि प्रक्रियामा गइसकेको छ,’ प्रवक्ता भण्डारीले भने ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाल जावलाखेल निवासी धनगढीका शेरबहादुर चन्द नामका व्यक्तिले उजुरी गरेका हुन् ।





कागजपत्र |
